आज विश्व सिमसार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

Share:

पोखरा । आज विश्व सिमसार दिवस । ‘सिमसार र जैविक विविधता’ मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

यस अवसरमा वन तथा वातावरण मन्त्रालयले पोखरामा विशेष कार्यक्रम आयोजना गरेको छ। जिल्लास्तरमा पनि डिभिजन वन कार्यालयहरुले सिमसार क्षेत्रको महत्व र जनचेतना सम्बन्धी विभिन्न कार्यक्रम गर्ने तयारी गरेका छन्।

सिमसारको संरक्षण गर्न सन् १९७१ मा रामसार महासन्धि स्थापना भएपछि फेब्रुअरी २ मा सिमसार दिवस मनाउन थालिएको हो । नेपाल सन् १९८७ मा सिमसार महासन्धिको सदस्य भएको हो । अहिले यो महासन्धीमा १ सय ६९ देश आवद्ध छन् ।

सिमसार जमिन र पानसहितको दलदल क्षेत्र हो । यस्ता सिमसार क्षेत्रमा दुर्लभ चराहरुको वासस्थान रहने गरेको छ । सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि सन्तुलनमा राख्ने गर्छ ।

नेपालमा ६० हजार ५ सय ६१ हेक्टर क्षेत्रफल रामसारले ओगटेको छ भने १ सय ९३ प्रजातीका चरा र ८९ प्रजातिका जीव सिमसार क्षेत्रमा आश्रित रहेका छन्।

कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवनको बिसहजारी ताल, कपिलवस्तुको जगदीशपुर ताल, कैलालीको घोडाघोडि, मुगुको रारा, रसुवाको गोसाइकुण्ड, डोल्पाको से–फोक्सुण्डो, सोलुखुम्बुको गोक्यो, इलामको माइपोखरी र कास्किका ९ वटै ताल रामसार सूचीमा सुचिकृत छन्।

कमेन्ट गर्नुहोस्
Share: