नेकपा केन्द्रीय कमिटी बैठकमा आज अध्यक्षद्धय र महासचिवले जवाफ दिने

Share:

काठमाडौं । बुधबारदेखि सुरु सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष र महासचिवले जवाफ दिने भएका छन् । बैठकमा केन्द्रीय सदस्यहरुले समूहगत रूपमा उठाएका प्रश्नको आज नेतृत्वले जवाफ दिने भएको हो ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक र महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल भएका छन् । शुक्रबार र शनिबार १५ वटै समूहमा छलफल भइ टोली नेताले आ–आफ्नो रिपोर्ट प्रस्तुत गरिसकेका छन् ।

जवाफ दिनुअघि सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । सचिवालयले निकाल्ने निष्कर्षका आधारमा बैठकमा नेतृत्वले जवाफ दिने नेताहरुले बताएका छन् ।

जवाफ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले दिने नेकपाको तयारी छ । विधानका विषयमा उठेका प्रश्नको महासचिव विष्णु पौडेलले जवाफ दिने बताइएको छ ।

नेकपाका अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी र सरकार दुवै ठीक ढंगले नचलेको गुनासो गरेका छन् । केन्द्रीय कमिटीमा नेताहरूको जीवनशैली विलासी बनेको, पार्टी र नेतामा भ्रष्ट आचरण मौलाएको, पार्टीमा नेतृत्वले नै गुटको नेतृत्व गरेको, सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकोजस्ता विषय उठेका छन् । साथै एमसीसी अनुमोदन गर्नु नहुने अडान समेत सदस्यहरुले राखेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: