
काठमाडौं । अख्तियारले कांग्रेसका उपसभापति तथा सांसद विजयकुमार गच्छदारसहितलाई मुद्दा हालेपछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आक्रोशित छ। कांग्रेस पदाधिकारी बैठकले मन्त्रिपरिषदमा प्रधानमन्त्री, मुख्य सचिव नै सबैभन्दा बढी जवाफदेही हुने भए पनि बालुवाटार प्रकरणमा तत्कालीन प्रधानमन्त्री र मुख्यसचिवलाई चोख्याएर मन्त्रीलाई पूर्वाग्रही ढंगबाट कारवाही गर्न लागिएको भन्दै यसका विरुद्ध राजनीतिक र कानुनी लडाई लड्ने चेतावनी दिएको छ ।
‘यस्तो अवस्थमा तत्कालीन प्रधानमन्त्री र मुख्य सचिवलाई दोषी नदेख्नु मन्त्री र सचिवलाई मात्रै दोषी बनाइनु पूर्वाग्रह हो,’ कांग्रेसको निर्णय छ । यता बिहीबार नै प्रतिनिधिसभा बैठक पनि कांग्रेसले अवरुद्ध गरेको छ । बैठकमा सचेतक पुष्पा भुसालले राजनीतिक पूर्वाग्रहका आधारमा यस्तो निर्णय गरेको भन्दै विरोध जनाएकी थिइन् । भुसालले लोकतन्त्रमा सबै बराबरी भए पनि बालुवाटार प्रकरणमा जग्गा किन्नेलाई जोगाएर अरुलाई फसाइएको दाबी गरिन्।
‘बालुवाटारको जग्गाको कुरा गर्दा विरोधाभाष र हाँस्यास्पद ढंगबाट मुद्दा चलाइयो’, उनले अगाडि भनिन्, ‘कुनै मुख्य सचिवलाई मुद्दा चलाउने, कुनै मन्त्री र प्रधानमन्त्रीलाई मुद्दा नचालउने यस्तो हुन्छ ?’ नेतृ भुसालले विजय गच्छदार लामो लोकतान्त्रिक लडाइँ लडेर आइपुगेको बताउँदै यस्ता नेतालाई मुद्दा चलाउन नहुने जिकिर गरेकी छन् ।
बालुवाटारको ललिता निवास निवास कम्पाउण्डमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जना विरुद्ध मुद्दा दायर गरेको छ । जसमा ११० जनाले भ्रष्टाचार गरेको दाबी गरिएको छ भने ६५ जनालाई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ । अख्तियारले नेपाली कांग्रेसका उपसभापति गच्छदारविरुद्ध ९ करोड ६५ लाख रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । गच्छदारले ०६७ सालमा भौतिक योजना तथा निर्माणमन्त्री हुँदा भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।
