
पोखरा । राष्ट्रिय वाणिज्य बैँक गण्डकी प्रादेशिक शाखाले जिल्ला कारागार कास्कीमा रहेका कैदीबन्दीलाई सहयोग गरेको छ । बिहिबार कारागार पुगेर बैँकका पदाधिकारीले त्यहाँका कैदीबन्दीहरुलाई ३ थान चिसो तातो पानी आउने वाटर डिस्पेन्सरसँगै, ५० थान किताब र नेपालको नक्सा प्रदान गरेको हो ।
संस्थागत सामुदायिक उत्तरदायित्व बहन अन्तर्गत बैँकले कारागारका कैदीलाई करिब ५० हजार मूल्य बराबरको सामान प्रदान गरेको हो । उक्त कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँक गण्डकी प्रादेशिक कार्यालयका प्रबन्धक ऋषि राम ढकाल, प्रादेशिक उप–प्रबन्धक बिदुर क्षेत्री, बैँकका कर्मचारीसँगै कारागारका कर्मचारीको उपस्थिती थियो ।
कैदीबन्दीहरुमाझ अध्ययनको बानी बसाली उर्जावान गराउन पुस्तक वितरण गरिएको गण्डकी शाखाका प्रबन्धक ढकालले बताए । यस्तै कैदी जीवनपछि जीवनलाई गतिशिल बनाइरहन यस्ता पुस्तक वितरण गरिएको उनले जानकारी दिएका छन् ।
राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वमा स्थापित नेपालको दोस्रो पुरानो र सबैभन्दा ठूलो वाणिज्य बैंक हो। यसको स्थापना वि.सं.२०२२ साल माघ १० गते भएको हो ।
यस बैंकले औद्योगिक व्यापारिक कृषि तथा मुद्रा स्थानान्तर, पूंजी बजार, उपभोक्ता कर्जालगायत अन्य क्षेत्रहरूमा ग्राहकहरूलाई विविध बैंकिङ्ग सेवा र्पुयाउँदै आएको छ। राष्ट्रिय वाणिज्य बैंकसँग देशभर २६०० कर्मचारीसहित देशभरमा १६० वटा शाखाको विस्तृत कार्यजालो रहेको छ।
