
पोखरा । न्यू ग्यालेक्सी इङ्लीस सेकेण्डरी स्कूलमा अध्ययनरत विद्यार्थी शुक्रबार बिहान ट्राफिक नियम सिकाउनमा व्यस्त रहे । शुक्रबार बिहान विद्यालयका विद्यार्थी र जिल्ला ट्राफिक कार्यलय कास्कीका ट्राफिक प्रहरीले पोखराका मुख्य बजार पृथ्वीचोक, चिप्लेढुङ्गा महेन्द्रपुलमा खटिइ पैदलयात्रीलाई जेब्रा क्रसबाट बाटो काट्न सिकाएका थिए ।
ट्राफिक नियमको ज्ञान हुदाँहुदै पनि आफ्नै लापरबाहीका कारण घटना घट्ने गरेकोले पैदलयात्री तथा सावारी चालकलाई ट्राफिक नियम बारे सचेत गराइएको थियो । विद्यालयको रजत जयन्तीको अवसर पारेर विद्यालयले यस वर्ष विविध कार्यक्रमको अयोजना गर्दै आएको विद्यालयका प्रिन्सिपल डा.रामजी शर्माले जानकारी दिए । ‘यो वर्ष हामीले रजत वर्षको रुपमा मनाएका छौं, विद्यालयका प्रिन्सिपल शर्माले भने,‘शिक्षासंगै सामाजिक उत्तरदायित्व पनि रहेकोले सामाजिक क्षेत्रमा पनि हामीले कार्यक्रम गरेका छौं ।’
विद्यालयले फागुन ८ गते विविध कार्यक्रमको अयोजना गरी रजत जयन्ती तथा अभिभावक दिवस मनाउँदै छ । रजत जयन्तीको अवसरमा यस वर्ष विद्यालयले स्वास्थ्य शिविर, सरसफाइ, विद्यालय स्तरीय वास्केटल प्रतियोगिता, रक्तदान कार्यक्रम, ट्राफिक सचेतना कार्यक्रम गरिसकेको विद्यालयका सहायक प्रिन्सिपल राजेश भण्डारीले जानकारी दिए ।

