
पोखरा । रोटरी क्लब अफ पोखरा लेकसाइडले पोखरा–७, मुस्ताङचोकमा रोटरी किड्नी केयर सेन्टर निर्माण गर्ने भएको छ । सुरुवातमा १० मेसिन राखेर निर्माण हुने सो सेन्टरको लागत प्रारम्भमा २ करोड ७८ लाख रुपैयाँ लाग्नेछ ।
पछि तीनतले आरसिसि बिल्डिङमा थप २० मेसिन संचालन गर्दा ६ करोड ८७ लाख सहित कुल ९ करोड ६५ लाख रुपैयाँ खर्च हुने निर्माण समिति संयोजक राजेन्द्र लिगलले जानकारी दिए । डायलायसिस मेसिन रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानले सहयोग गर्ने छ ।
सेन्टरको प्रारम्भिक संरचना चालु आर्थिक वर्षभित्र सक्ने योजना छ । सेन्टर भवनको शिलान्यास आइतबार गण्डकी प्रदेशका आर्थिक ममिला तथा योजना मन्त्री किरण गुरुङले गरे । पोखरा उपत्यका नगर विकास समितिले दिएको ३ रोपनी ४ आना जग्गामा निर्माण हुने सेन्टरले वार्षिक ३ लाख ९० हजार भाडा बुझाउपर्ने सम्झौता रहेको निर्माण समिति संयोजक लिगलले जानकारी दिए ।
नियमित डायलाइसिस गर्दा बिरामीले सरकारी अस्पतालमा पालो कुनुपर्ने बाध्यता विद्यामान छ । तीन वर्षअघि स्थापित रोटरी क्लब अफ पोखरा लेकसाइडले यसअघि रेडक्रस कास्कीलाई एम्बुलेन्स सहयोग गरेको थियो ।
