
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण लगातार स्थगित हुँदै आएको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।
बैठकमा विभिन्न विधेयक र प्रतिवेदनहरु प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको छ । बैठक संचालन भएमा आज कारागार विधेयक २०७६ बैठकमा पेश हुनेछ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्ले नेपाल इन्जिनियरिङ परिषद (पहिलो संशोधन) विधेयक–२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले प्रमाण (दोस्रो संसोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदीले बिउ बिजन (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछिन्। बैठकले पहिलो संविधानसभा सदस्य सिद्धार्थकुमार सोमानीको निधनमा शोक प्रस्ताव पनि पारित गर्ने कार्यसूची रहेको छ।
यसैबिच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने आफ्ना उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक प्रतिशोध साँधेर भ्रष्टाचारको मुद्दा लगाएको भन्दै विरोध जनाउदै आएको छ ।
बैठक पटक पटक अवरुद्ध हुँदा संसदका काम कारवाही प्रभावित हुँदै आएका छन् ।
