आर्मी शीर्ष स्थानमा उक्लियो, भरतकाे ५० गोल पूरा

Share:

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ३–० गोल अन्तरले पराजित गदै आर्मी शीर्ष स्थानमा उक्लिएको हो ।

आर्मीको जितमा कप्तान भरत खवास, विकास तामाङ र टेकबहादुर बुढाथोकीले एक–एक गोल गरे । खेलको पाँचौँ मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए ।

यस गोलसँगै भरतले नेपाली फुटबलकै माथिल्लो श्रेणीको ‘ए’ डिभिजन लिगमा ५० गोल पूरा गरेका छन् । त्यसैगरी, खेलको ५४औँ मिनेटमा विकासले गोल गर्दै आर्मीलाई दोस्रो अग्रता दिलाए । त्यसपछि खेलको ७०औँ मिनेटमा टेकबहादुरले गोल गर्दै आर्मीलाई ३–० को सहज जित दिलाए ।

जितसँगै आर्मीले शीर्ष स्थानमा एक अंकको अग्रता बनाएको छ । आर्मीले १२ खेलमा २९ अंक जोडेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको मच्छिन्द्रको २८ अंक रहेको छ । आठ अंक रहेको ब्रिगेड १२औँ स्थानमा छ ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: