
काठमाडौं । आज नेपालका पहिलो शहीद लखन थापाको १ सय ४३औँ स्मृति दिवस मनाइँदै छ । प्रथम सहिद लखन थापा स्मृति प्रतिष्ठान र नेपाल मगर संघले संयुक्त रुपमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रमको आयोजना गर्दैछ ।
यस्तै, थापाको जन्मस्थल गोरखाको शहीद लखन गाउँपालिका ८ को बुङ्कोटमा विभिन्न कार्यक्रम गरिँदैछ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि सहभागिता रहनेछ ।
प्रथम सहिद लखन थापामगरको स्मृति दिवसका सन्दर्भमा नेपाल मगर संघले विभिन्न मागहरु राख्दै सरकारको ध्यानाकर्षण गराएको छ । सरकारले लखन थापालाई प्रथम सहिद घोषणा गरेपनि ब्यवहारिक कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग गरेको छ । प्रथम सहिद थापाको जिवनी पठ्यक्रममा समावेश गर्नुपर्ने, राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने, फागुन २ लाई सहिद सप्ताह भित्र पार्नु पर्ने लगायतका माग राखि सरकारको ध्यानाकर्षण गराएको हो ।
संघको आह्वानमा आज देशका ७३ जिल्लाका जिल्ला कार्यसमिति र विदेशमा रहेका संघका शाखा तथा आवद्ध संस्थाहरुले विविध कार्यक्रम गरि प्रथम सहिद कप्तान लखन थापामगरको १ सय ४३औं स्मृति दिवस मनाउन लागेको नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोकामगरले जानकारी दिए ।
विसं १९३३ फागुन २ गते तत्कालीन राणा शासकले बुङ्कोटको काहुले भङ्गारमा थापा र उनका सहकर्मी जैसिं चूमी मगरलाई फाँसी दिएका थिए ।
थापालाई नेपाल सरकारले २०७२ साल असोज ३ गते नेपालको पहिलो शहीद भएको मान्यता दिएको हो । दिवसका अवसरमा शहीद लखन गाउँपालिकामा आज सार्वजनिक बिदा समेत दिइएको छ ।
