
पोखरा । स्याङ्जाको मिर्मीमा रहेको कालीगण्डकी ए जलविद्युत केन्द्र मर्मतका लागि सोमबारसम्म बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको केन्द्र मर्मतका लागि शुक्रबार राति १० बजेदेखि बन्द हुने भएको हो ।
विद्युतगृहको पहिलो युनिटको मुख्य इनलेट भल्भबाट पानी चुहिएपछि बिहीबार राति ११ बजेबाट विद्युत् उत्पादन बन्द गरी मर्मत सुरु गरिएको थियो । दैनिक औसत ५८ मेगावाट विद्युत् उत्पादन गरिरहेको अर्धजलाशययुक्त विद्युत केन्द्र मर्मतका लागि सोमबार साँझ पाँच बजेसम्म बन्द रहने छ ।
स्याङ्जाको मिर्मीमा रहेको विद्युतगृहमा ४८/४८ मेगावाटका तीन युनिट छन् । एउटा युनिट मर्मत गर्न अरू पनि बन्द गर्नुपर्ने भएकाले केन्द्रबाट विद्युत् उत्पादन बन्द भएको हो । केन्द्रबाट उत्पादित विद्युत् पोखरा र बुटवलतर्फ प्रवाह गरिन्छ ।
मुलुककै ठूलो विद्युतगृहबाट विद्युत् उत्पादन बन्द भएपछि पश्चिमभेगका औद्योगिक ग्राहकको साँझ पिक समयमा विद्युत् आपूर्ति कटौती हुन सक्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
कार्यकारी निर्देशक घिसिङले विद्युत् आपूर्तिलाई प्रभावित हुन नदिन शुक्रबार र शनिबारको विदालाई ध्यान दिएर मर्मत सुरु गरिएको प्रष्ट पारे । मर्मतमा ३७ जना प्राविधिकहरु खटिएको विद्युतगृहका प्रमुख पशुपतिराज गौतमले जानकारी दिए ।
File Photo
