१८ औं आहा ! रारा गोल्ड कपमा १० टिम सहभागि हुने, पुरस्कार राशि बढ्यो

Share:

अनुप पौडेल, पोखरा । १८ औं संस्करणको आहा ! रारा गोल्ड कपमा १० टिम सहभागि हुने भएका छन् । फागुन २२ देखि शुरू हुने प्रतियोगितामा १० टिमको सहभागिता निश्चित भएको आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । गएको १७ औं संस्करणमा पनि १० टिमनै सहभागि भएका थिए ।

चैत्र १ सम्म चल्ने १८ औं संस्करणमा एउटा मात्र विदेशी टिम आउने भएको छ । गएको संस्करणसम्म ३ वटासम्म विदेशी टोलिको सहभागिता रहँदै आएको भएपनि यस वर्ष भारतको गान्टोक सिटी फुटबल क्लब मात्र आउने भएको हो ।

१७ औं संस्करणमा डफिन्स फेमिली टिम क्यामरुन र युनाइटेड सिक्किम भारत गरी दुई विदेशी क्लबले खेलेका थिए । आयोजकले यस वर्ष पनि कम्तीमा दुई विदेशी टिम सहभागि हुने जनाएको थियो । तर, विविध कारणले यस वर्ष एउटा मात्र विदेशी टिमले खेल्ने भएको छ ।

यस वर्ष प्रतियोगितामा आयोजक सहारा क्लब, रुसलान थ्री स्टार, त्रिभुवन आर्मी क्लब, नेपाल आयल निगम मनाङ म¥याङ्दी, बिग्रेड ब्वाइज क्लब, नेपाल पुलिस, एपिएफ क्लब संकटा क्लब, झापा ११ सहभागि हुने आयोजकले जनाएको छ । ए डिभिजन लिग विजेता मछिन्द्र क्लब भने नखेल्ने भएको छ ।

क्लबलाई जानकारी गराए पनि लिग विजेता मछिन्द्रले प्रतियोगिता नखेल्ने भएको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । ‘हामीले मछिन्द्रलाई एक महिना पहिला जानकारी गराएका थियौँ । तर, क्लबले यस वर्ष प्रतियोगितामा सामेल नहुने बतायो ।’ क्लका अध्यक्ष थापाले भने । गएको १७ औं संस्करणको उपाधि रुसलान थ्री स्टारले जित्दा त्रिभुवन आर्मी उपविजेता बनेको थियो ।

खेल पोखरा रङ्गशालामा हुने पक्का

आयोजकले एन्फाबाट खेल खेलाउने मिति पाएपनि कहाँ खेलाउने भन्ने अन्यौलता थियो । अब भने अन्यौलता हटेको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि खेल पोखरा रङ्गशालाभित्रको फुटबल मैदानमा नै हुने भएको छ ।

स्तरोन्नतीको काम चलिरहेकाले खेल रङ्गशालामा हुन्छ वा हँदैन भन्ने पक्का थिएन । आयोजकले दोबिल्लाको खेल मैदानलाई विकल्पको रुपमा राखको थियो । केहि दिन अगाडि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालसहितको टोलिले रङ्गशालाको अवलोकन गरेको थियो । सदस्य सचिव सिलवालले पनि १८ औं संस्करण रङ्गशालामा हुने बताएका थिए ।

‘खेल मिति पाएपनि कहाँ खेलाउने भन्ने पक्का थिएन । अहिले खेलाउने ठाउँको टुङ्गो लागेको छ ।’ क्लबका अध्यक्ष थापाले भने, ‘यस वर्ष पनि खेल रङ्गशालाभित्रको फुटबल मैदानमा हुन्छ ।’ अहिले पोखरा रङ्गशालामा स्तरोन्नतीको काम चलिरहेको छ ।

फुटबल मैदानमा प्यारापिट जडानको काम चलिरहेको छ । रङ्गशालामा १७ हजार दर्शक क्षमताको प्यारापिट बनाइँदै छ । प्रतियोगिता शुरू हँदासम्म साढे १३ हजार क्षमताको बनाइने छ । गएको मंसिरमा सम्पन्न १३ औं सागमा ६ हजार क्षमताको भनिए पनि मात्र ५२ सय क्षमताको प्यारापिट जडान गरिएको थियो ।

पुरस्कार राशी बढ्यो

आयोजकले यस वर्ष प्रतियोगिताको पुरस्कार राशि बढाएको छ । १७ औँ संस्करणमा पनि पुरस्कार राशि बढाइएको थियो । १८ औं संस्करणमा विजेताको पुरस्कार राशि दुई लाख र उपविजेताको एक लाखले बढाइएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए ।

यस वर्ष विजेताले रू १० लाख १ हजार पाउँदा उपविजेताले रू ५ लाख १ हजार पाउने छ । गएको संस्करणको विजेताले रू ८ लाख १ हजार रुपैयाँ नगद प्राप्त गर्दा उपविजेताले रू ४ लाख १ हजार हात पारेको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी, बेष्ट अफ फाइभ, फेयर प्ले र निर्णयकलाई ट्रफी र मेडल प्रदान गरिने छ । यस्तै हरेक खेलको म्यान अफ दि म्याचलाई रू ५ हजार दिइने छ ।

आयोजकले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जनालाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७६ बाट सम्मान गर्ने भएको छ । यसको पुरस्कार रकम ३५ हजार छ । सहारा क्लबले आयोजना गर्दै आएको प्रतियोगिताको छुट्टै माहोल छ । दर्शकको साथले पनि आयोजकलाई हौसला थपेको छ ।

प्रतियोगिताबाट रू १ करोड १८ लाख १ हजार आम्दानी र रू ९९ लाख ३८ हजार ५ सय खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताबाट नाफा भएको रकम क्लबले संचालन गरेको सहारा एकेडेमीको खर्च गर्ने गरिन्छ ।

एकेडेमी संचालन गर्न वार्षिक करिब २० देखि २२ लाख खर्च हुने गर्दछ । हाल एकेडमीमा देशका विभिन्न १४ जिल्लाका २४ जना बालक आश्रित छन् । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा प्रतियोगिता हँदै आएको छ ।

यो पनि::

आहा ! रारा गोल्ड कपको बचत घट्यो

थ्री स्टार बन्यो च्याम्पियन, गोलरक्षक एलन न्यौपानेले पाए तीन विधाका अवार्ड

कमेन्ट गर्नुहोस्
Share: