
काठमाडौं । कोभिड १९ (कोरोना भाइरस) बाट ज्यान गुमाउनेको संख्या २४ सय ६५ पुगेको छ । पछिल्लो तथ्याङ्कअनुसार चीनमा २४ सय ४५ र अरु देशमा २० जना गरी ज्यान गुमाएका छन्। यस्तै कोरोना संक्रमितको संख्या ७९ हजार ९ सय ३० जना पुगेको बीबीसीले जनाएको छ ।
यसैबीच ४४ हजार नेपाली बस्ने दक्षिण कोरियामा कोरोना भाइरसको त्रास बढेको छ । दक्षिण कोरियामा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । हिजो एकै दिन झण्डै २ सय नयाँ बिरामी थपिएका हुन् । ६ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । चीनबाहिर यो सबैभन्दा धेरै संक्रमण हो ।
दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनले देशले अहिले धेरै ठूलो चुनौतीको सामना गरिरहेको भन्दै सचेत रहन सबैलाई आग्रह गरेका छन्। देगु लगायतका सहरहरुमा आवातजावात बन्द गरिएको छ ।
कोरियाले सेनालाई सीमित घेरामा ल्याएको छ भने कोरोनाबाट बच्नको लागि अपनाउनुपर्ने सावधानीबारेमा चेतना अभिवृद्धिको कामलाई तिब्रता दिएको छ । कोरोना परीक्षण र उपचारको लागि अबैध रुपमा बसिरहेका विदेशीहरुलाई पनि परीक्षण र उपचार गर्न थालेको छ । यसरी कोरिया सरकारले नै उच्च सतर्कता अपनाएकाले डराइहाल्नुपर्ने अवस्था नरहेको नेपाली दूतावासले बताएको छ ।
कोरियामा हाल ४४ हजार नेपालीको बसोबास छ । त्यसमध्ये ३६ हजार ईपीएस भाषा परीक्षा पास गरेर कोरिया पुगेकाहरु छन् भने विद्यार्थीसहित अन्य विभिन्न प्रक्रियाबाट त्यहाँ पुगेकाहरु पनि छन् ।
