त्रिभुवन आर्मी संकटालाई हराउँदै आहा ! रारा गोल्डकपको सेमिफाइनलमा

Share:

पोखरा । १८ औँ संस्करणको आहा ! रारा गोल्डकपमा त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगितामा मङ्गलबार भएको तेस्रो क्वाटफाइनलमा संकटा क्लबलाई पराजित गर्दै आर्मी सेमिफाइनल प्रवेश गरेको हो ।

पोखरा रङ्गशामा भएको खेलमा आर्मीले संकटालाई ३–० गोल अन्तरले पराजित ग¥यो । त्रिभुवन आर्मीको जितमा सुधिल राई ,नवयुग श्रेष्ठ र विवेक बस्नेतले गोल गरे । सुधिलले १४ औँ मिनेटमा नवयुग श्रेष्ठले मिलाएको बललाई गोलमा परिणत गरिदिएका थिए । यस्तै नवयुगले खेलको ७० औँ मिनेटमा गोल गर्न सफल रहे । यस्तै नवयुगले गोल गरेको ४ मिनेट पछि खेलको ७४ औँ मिनेटमा विवेक बस्नेतले उत्कृष्ट गोल गर्न सफल रहे ।

खेलमा दुवै टोलीले धेरै गोल गर्ने मौका पाएपनि गोलमा परिणत गर्न सकेनन् । खेलको २३ ओँ मिनेटमा भरत खवासले मिलाएको ओपन बललाई जर्ज प्रिन्स कार्कीले गोलमा परिणत गर्न सकेनन । उनको प्रहार संकटाका गोल रक्षक राजाबाबु थापाले बचाए । यस्तै खेलको २९ औँ मिनेटमा नवयुग श्रेष्ठले प्रहार गरेको बल आकासिन पुग्यो । खेलको ४० औँ मिनेटमा संकटाका बिदेशी खेलाडी ड्याडी अम्बाको शट समेत आकासियो ।

५९ औँ मिनेटमा संकटाका मासिके पिएरीले उत्कृष्ट ड्रिब्लिङ गर्दै बल प्रहार गरेपनि गोल गर्न भने सकेनन् । ६१ औँ मिनेटमा आर्मीका सन्तोष तामाङले गरेको प्रहार पोष्ट माथि बाट बाहिरिन पुग्यो । दोस्रो गोल गरेपछि आर्मीका खेलाडीले लगातार संकटाको पोष्टमा प्रहार गरे । खेलको ७१ औँ मिनेटमा आर्मीका कप्तान भरत खवासले शक्तिशाली प्रहार गरे ।

त्यसको एक मिनेटमै सन्तोष तामाङले डि–बक्स भित्रबाट प्रहार गरे । ती दुवै प्रहारलाई संकटाका गोल रक्षक राजाबाबु थापाले उत्कृष्ट बचाउ गरे । ७९ औँ मिनेटमा कप्तान भरत खवासको पासमा जर्ज प्रिन्स कार्कीले गरेको प्रहार बाहिरियो । खेलमा म्यान अफ द म्याच पुरस्कार नवयुग श्रेष्ठले प्राप्त गरे ।

अब आर्मीले सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ । खेल फागुन २९ गते बिहिबार हुनेछ । मनाङले क्वाटरफाइनलमा झापा–११ लाई पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको थियो । यस खेलसँगै प्रतियोगितामा क्वाटरफाइनलका खेल सकिएका छन् ।

अब सेमिफाइनलका खेल सञ्चालन हुनेछन् । सेमिफाइनलमा आर्मीसँगै मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब र थ्री स्टारले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल पुलिस क्लबले क्वाटरफाइनलमा घरेलु क्लब सहारा क्लब पोखरालाई टाइ–ब्रेकरमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । यता साविक विजेता समेत रहेको थ्री स्टारले भारतीय क्लब गान्टोक सिटी एफसी सिक्किमलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

अब पहिलो सेमिफाइनलमा फागुन २८ गते बुधबार नेपाल पुलिस क्लब र थ्री स्टारबिच खेल हुनेछ । यस्तै दोस्रो सेमिफाइनलमा फागुन २९ गते बिहिबार मनाङ र आर्मी भिड्नेछन् ।

सहारा क्लबको आयोजना र रारा चाउचाउको प्रायोजनमा फागुन २२ देखि चलिरहेको प्रतियोगिता चैत १ गते सम्म चल्नेछ । १० टोलीको सहभागिता रहेको प्रतियोगितामा विजेता टोलीले १० लाख १ हजार रुपैँया पुरस्कार पाउँदा उपविजेताले ५ लाख १ हजार पाउनेछ ।

कमेन्ट गर्नुहोस्
Share: