
काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज विहान ११ बजे बस्दैछ। बैठकमा कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र भारतीय पक्षले अतिक्रमण गरेका नेपाली भूभाग फिर्ता गराउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश हुनेछ।
बैठकमा नेकपा सांसद खगराज अधिकारीले संकल्प प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ। सो प्रस्तावको समर्थक नेकपाकै सांसद रामकुमारी झाँक्री छिन् ।
भारतले नयाँ राजनीतिक नक्सा जारी गर्दा कालापानी, लिम्पियाधुरालगायतका नेपाली भूभागलाई समेत आफ्नो नक्साभित्र पारेपछि चर्को विरोध हुँदै अएको छ ।
यस्तै बैठकमा ‘धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि पेश हुनेछ। ‘कारागार विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने विद्येयक प्रस्ताव पनि आज बस्ने बैठकको कार्यसूचीमा राखिएको छ। गृहमन्त्री रामबहादुर थापाले अन्तरदेशीय संगठित अपराध महासन्धी अन्तर्गतको पालेर्मो अभिसन्धि पनि अनुमोदनका लागि पेश गरिने जनाइएको छ । राष्ट्रियसभाको बैठक पनि आज दिउँसो १ बजेका लागि बोलाइएको छ।
