मिस नेपाल २०२० को पोखरा अडिसन आजबाट

Share:

पोखरा । मिस नेपाल २०२० को पोखरा अडिसन आजबाट हुने भएको छ । अनलाइन र प्रत्यक्ष रुपमा फारम भनेका प्रतियोगीहरुका लागि आज साँझ ५ बजे वाटरफ्रन्ट रिसोर्टमा ‘वरिएन्टेसन क्लास’ हुनेछ । त्यस पश्चात उनीहरुको चैत्र ३० गते शुक्रबार पूर्वाह्न ११ बजे अडिसन हुने हिडेन ट्रेजरका निर्देशक दिवाकरराज कर्णिकारले जनाए ।

पोखरा अडिसनको लागि हिडेन ट्रेजर नेपालका निर्देशक कर्णिकार सहित मिस नेपाल इन्टरनेश्नल २०१८ कि विजेता रोनाली अमात्य अडिसनका लागि पोखरा आएका छन् । मिस नेपाल अन्तर्रा्ष्ट्रिय छविको राष्ट्रिय कार्यक्रम बनेको र केही गर्न चाहने युवतीहरुका लागि सही प्लेटफर्म भएकाले पनि यस कार्यक्रममा सहभागी हुन पोखरेली युवतीहरुलाई आयोजकको आग्रह छ ।

विभिन्न सहर र कुनाकुनाका प्रतिभालाई उजागर गर्नका लागि यसपालि नेपालका ८ वटा सहरहरु काठमाडौँ, पोखरा, धरान, चितवन, बुटवल, वीरगञ्ज, बिर्तामोड, धनगढीबाट अडिसनबाट छानिएका युवतीहरुलाई काठकाडौँमा ६ हप्ता ट्रेनिङ दिने कर्णिकारले बताए । रजिष्ट्रेशन फि जम्मा २००० लाग्ने र मिस नेपालको जर्नीभरिमा लाग्ने सम्पूर्ण खर्च आयोजकले बेहोर्ने भएकाले जस्तोसुकै आर्थिक अवस्थाका प्रतियोगीलाई सहज हुने कर्णिकारले बताए ।

मिस नेपाल इन्टरनेशल २०१८ रोनाली अमात्यले मिस नेपालको जर्नीबारे बताउँदै कुनै सङ्कोच नमानी अडिसनमा भाग लिएर आफ्नो भविष्यको प्लेटफर्ममा सहभागी हुन आग्रह गरिन् । त्यस्तै यो वर्ष पुरस्कारको राशी बढाएर रु दुई लाख ५० हजारसहित त्रैमासिक भत्ता पनि पुरस्कारको रुपमा प्रदान गरिनेछ ।

मिस नेपालमा सहभागिताका लागि प्लस टु उत्तीर्ण, १८ देखि २६ वर्ष ननाघेका र ५ फिट ४ इन्च उचाइ हुनपर्ने छ । मे १५ तारिख काठमाडौँमा हुने मिस नेपाल प्रतियोगितामा मिस पोखरा, मिस अष्ट्रेलिया, मिस युरोपले अडिसन नदिई सिधै इन्ट्री पाउनेछ ।

कुटी रिसोर्ट लेकसाइडमा भएको कार्यक्रममा पोखरा जेसिजका अध्यक्ष शिवप्रसाद सापकोटाले अध्यक्षता र स्वागत जेसिजका महासचिव मीनराज पौडेलले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: