
काठमाडौं । भारतमा निर्भया सामूहिक बलात्कार काण्डका चारै जना दोषिलाई फाँसी दिईएको छ। भारतीय समयअनुसार आज बिहान साढे ५ बजे मिनेटमा दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिईएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।
निर्भयाका बलात्कार घटनाका दोषीहरु विनय शर्मा, अक्षय कुमार सिंह, मुकेश सिंह र पवन गुप्तालाई एकसाथ फाँसी दिईएको हो।
सन् २०१२ डिसेम्बर १६ मा आफ्ना केटा साथीसँग बसमा घर फर्किँदै गरेकी २३ वर्षिय छात्रा निर्भयालाई ६ जनाले सामुहिक बलात्कार गरेको एक दिनपछि उनको मृत्यु भएको थियो ।
यो घटनासँगै भएको लामो विरोध प्रदर्शन र आन्दोलनपछि भारतमा बलात्कारविरुद्ध नयाँ कानुन बनेको हो । घटनालगत्तै पक्राउ परेका ६ जनामध्ये राम सिंह सन् २०१३ को मार्चमा हिरासतमै मृत फेला परेका थिए । अर्का एक जना घटना भएको बेला १७ वर्ष मात्र पुगेकाले तीन वर्ष सुधार गृहमा बसेर रिहा भइसकेका छन् ।
केही महिनाअघि चारै जना अपराधीलाई मृत्युदण्डको सजाय कम गरी आजीवन काराबासको माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको थियो । तर अदालतले उक्त निवेदन खारेज गरेपछि उनीहरुलाई मृत्युदण्ड दिइएको हो ।
निर्भयाको परिवारले अदालतको यो फैसलाले आफूहरुले न्याय पाएको बताएका छन् । उनीहरुले ७ वर्ष ३ महिना ८ दिनपछि न्याय पाएका हुन् ।
