
अनिष भट्टराई । पोखराका ढाकाराम पौडेलको मन अचेल बेचैन छ । श्रीमती भगवती उमेरले भर्खरै ३८ वर्षकी भईन् । घरकी मेरुदण्ड उनी नै डेढ वर्षदेखि ओछ्यानमै थलिएकी छिन् । कलिला छोराहरू पढाईतिर ध्यान हुनुपर्नेमा आमाको सुर्ताले पिरोलिएका छन् । श्रीमती, छोराहरुको समस्याको भारीले ढाकारामकै टाउको थिचेको छ ।
पोखरा महानगरपालिका वडा नं. २५ घर भएका ढाकाराम १४ वर्षअघि साउदी पुगेका थिए । परिवारको आर्थिक अवस्था राम्रो बनाउँला, तामा जस्ता दुई छोराहरुको उज्ज्वल भविष्य कोरुँला भनेर खाडीमा घोटिँदै थिए । साउदी पुगेको ५ वर्षपछि एक्कासी पत्नी भगवती बिरामी परिन् । उनलाई उच्च रक्तचापले समात्यो । श्रीमती नै बिरामी भएपछि ढाकाराम घर फर्किए । भगवतीको उपचार सुरु गरे । मनिपाल अस्पताल पुगे, जँचाए । भगवतीले उच्च रक्तचापको औषधि लिन थालिन् । ढाकाराम गाउँमै डकर्मी काम गर्न थाले । घर बनाउने ठाउँमा पुग्थे, काम गर्थे, घरखर्ची टरिरहेको थियो ।
००
भगवतीले मणिपाल अस्पतालमै प्रत्येक २ हप्ता फरकमा स्वास्थ्य जाँच गराइरहिन् । उनको स्वास्थ्यमा सुधार हुने कुनै छाँट थिएन । सात वर्षदेखि उच्च रक्तचापको औषधी खाईरहेकी भगवतीमा अनौठो लक्षण देखा पर्न थाल्यो । हातगोडा सुन्निने, बान्ता आउने, पेट पोल्ने, रिंगटा लाग्ने जस्ता लक्षण देखा पर्न थालेपछि पौडेल दम्पती पुनः मनिपाल पुगे । उनीहरु झसंग भए, जब अस्पतालले भन्यो ‘दुबै मिर्गौलाले काम गर्न छाडिसकेछ ।’
७ वर्षसम्म उच्च रक्तचापको औषधि खाँदा खाँदा नै मिर्गौलाले काम नगरेको ढाकारामको बुझाई छ। मनिपाल अस्पतालले उच्च मात्राको औषधी दिनाले नै पत्नीको मिर्गौलाले काम गर्न छाडेको ढाकाराम बुझ्छन् । उनी थप्छन्, ‘ओभरडोजले नै हो, पहिल्यै अस्पतालले डायग्नोसिस पनि गर्न सक्थ्यो नि ! यति ढिला औषधि मात्र थप्दै गयो ।’
दुवै मिर्गौलाले काम गर्न छाडेपछि भगवतीलाई जचाउन काठमाडौँ स्थित टिचिङ हस्पिटल लगियो । त्यहाँ उपचार गर्न सामथ्र्य नभएपछि भगवतीलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पताल नै ल्याएर उपचार थालियो । उनलाई हप्तामै दुई पटक डायलोसिस गर्नुपर्ने हुन्छ । यसका लागि करिब ९ हजार खर्च हुन्छ । महिनामै ३६ हजार जुटाउने सामथ्र्य अब ढाकारामसँग छैन ।
अस्पतालले पनि यथासक्य चाँडो मिर्गौला प्रत्यारोपण गर्न सुझाएको छ । प्रत्यारोपणका लागि २० लाख लाग्नेछ । डेढ वर्ष देखि हप्तामा दुई पटक सोमबार र बिहिबार भगवतीको डायलासिस गर्दै आएका छन् । पैसा पनि सकिसक्यो । जेठो छोरो राजेशलाई यही बीचमा विदेश समेत पठाएका छन् । उनको अध्ययन समेत भएकाले काम गरेर पैसा कमाउन सकेका छैनन् । जाँदा लिएको ऋणको ब्याज तिर्नै आपत छ । घरको तनावले गर्दा धेरै काम गर्ने स्फुर्ति समेत छैन ।
‘पैसा नभएका कारण मिर्गौला प्रत्यारोपण गराउन सकिएन, हप्तामा दुई पटक डायलासिस गछौँ ।’ ढाकाराम भन्छन् । उनीहरुका दुई सन्तान हुन् । कान्छो दिपेश भने साथमै छन् । गैह्रापाटन स्थित पश्चिमाञ्चल माध्यमिक विद्यालयमा कक्षा ११ मा मानविकी संकायमा पढाएका छन् । दिपेशका लागि धेरै सपना बुनेका ढाकाराम दम्पतिले कष्टका माझ ऋण काढेरै भएपनि निजी कलेजमा पढाइरहेका छन् । अहिले घरको सबै खर्च ऋणमा नै चलिरहेको छ ।
००
आफ्नो सामथ्र्य सकियो । अबको भरोषा सहयोगी मनहरुकै हो । भगवती सबैसँग जिवनरक्षाका लागि सहयोगको याचना गर्छिन् । ‘मैले छोराहरुका लागि धेरै सपना देखेको छु, अझै बाँच्न चाहन्छु ।’ उनी भन्छिन्, ‘मेरा लागि भगवान् भन्नु नै सहयोगी मनहरु नै हुन् । अब बाँकी केही छैन ।’
अहिले भगवतीका लागि छिमेकीले सहयोग जुटाइरहेका छन् । ‘भगवती पौडेल बचाउ अभियान’ नै सुरु गरी उनका लागि केही रकम संकलन भइरहेको छ । उनको नाममा एनएमबि बैँकमा खाता खोली सहयोग जुटाइरहेका छन् । सहयोग गर्न चाहनेले भगवती पौडेलको नाममा रहेको खाता नम्बर १२५०१२३०११६०००१३ मा सहयोग गर्न सक्नेछन् ।
००
मुलुकका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हालै मिर्गौला प्रत्यारोपण गराएको खबरबाट उनी पूर्ण जानकार छन् । आफ्नै नेपालमा, नेपाली चिकित्सकबाटै सफल रुपमा प्रत्यारोपण भयो । ढाकाराम र भगवतीलाई खुशी लागेको छ र तर दुःख यस अर्थमा कि त्यही शिक्षण अस्पतालमा उपचार गराउने सामथ्र्य नपुग्दा पोखरा फर्किएर अहिले सहयोगको हात पसार्नुपरेको छ ।
‘ठाउँमा हुनेहरुको सबै उपचार यहीँ सम्भव हुने रहेछ, हामी जस्ता नहुनेहरु चाहिँ उपचार नपाएरै मनुपर्ने हो त ?’ ढाकारामको गुनासो छ । भगवतीमा पनि दुःखेसो छ ‘प्रधानमन्त्रीले दुई–दुुई पटक मिर्गौला प्रत्यारोपण गराउनुभयो । पैसा हुनेहरुलाई त केही समस्या रहेनछ । तर हामीसँग एकपटकका लागि पनि पैसा छैन, कसले दिन्छ र मिर्गौला फेर्ने पैसा ?’

