
पाेखरा । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोक्नका लागि स्याङ्जाको फेदीखोला गाउँपालिकाले आइतबार देखि तयारीलाई थप तिब्रता दिएको छ ।
कुभिण्डे भन्ज्याङमा राखिएको हेल्थ डेक्सबाट सुरुवात कै दिनमा ११ हजार बढि यात्रुको स्वास्थ्य परीक्षण गरि पठाइएको छ । कोरोना त्रासले शहरबाट ग्रामिण क्षेत्रमाजाने यात्रुको चाप, त्यसमाथि देशको व्यस्त राजमार्ग सिद्धार्थ राजमार्ग, पोखरा महानगरबाट स्याङ्जाहुदै देशका विभिन्न जिल्लामा प्रवेश गरेका सवारी साधनमा सवार यात्रुलाई ओराल्दै चेक जाँचगर्न हम्मेहम्मे परेको थियो ।
इन्फारेड थर्मो्मिटर बाट ज्वरो नाप्दा कुनै यात्रुको पनि १ सय डिग्री फरेनहाइट भन्दामाथि ज्वरो नदेखिएको फेदीखोला गाउँपालिका स्वास्थ्य शाखा संयोजक खिलप्रसाद पौडेलले जानकारी दिए । बढि ज्वरो भेटिएमा वा संक्रमणको आशंका देखिएको खण्डमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा रिफर गर्न २ वटा एम्बुलेन्स तयारीमा राखिएको संयोजक पौडेलले बताए ।
हेल्थ डेक्सबाट परामर्श दिने तथा जानकारी मुलक पर्चा वितरण गरिएको थियो । त्यसैगरि स्थलमा साबुन, सेनिटाइजर सहितको स्वस्थहातधुने पानीको पनि व्यवस्था गरिएको छ ।
आइतबार नै बढि भाडा लिने २० वटा लामो दुरीका सवारीलाई नियन्त्रणमा लिई भाडा फिर्ता गरिएको गाउँपालिकाले जनाएको छ । यात्रु चाप र त्रासलाई फाइदाको माध्यम बनाएर बढि भाडा लिने सवारीलाई गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीको अग्रसरतामा नियन्त्रणमा लिइएको थियो । आइन्दा बढि भाडा नलिने सर्तमा उनीहरुलाई छोडिएको अध्यक्ष सुवेदीले जानकारी दिए । बढि भाडा लिएको पाइएमा तत्काल गाउँपालिकामा उजुरी गर्न अध्यक्ष सुवेदीको आग्रह छ । कालोबजारी नियन्त्रणको लागि गाउँपालिकाले सुष्म निरिक्षण समितिपनि परिचालन गरेको छ । कतै कालोबजारी भएमा तत्काल गाउँपालिका अध्यक्षको मोवाइल नं. (९८५६)६६६०९) मा सम्पर्क गर्न गाउँपालिकाले सुचित गरेको छ ।
यसअघि हेल्थ डेक्सको उद्घाटन गर्दै जिल्ला समन्वय समिति स्याङ्जाकि प्रमुख सीता सुन्दासले सम्पुर्ण स्थानीय तहले यसैगरि तिब्र तयारी गरेमा संक्रमण भित्रन नसक्ने बताइन् । बिहान ८ बजेबाट बेलुका ६ बजेसम्म दिनहुँ हेल्ड डेक्स सञ्चालनमा आउने गाउँपालिकाले जनाएको छ ।
वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम गाउँपालिकाले सुरु गरेको छ । गाउँपालिकाको वडा नं. २ माअवस्थित सिद्धार्थ बहुमुखी क्याम्पसका ८ वटा कोठालाई सुविधा सम्पन्न क्वारेन्टनाइन स्थलको रुपमा प्रयोग गरिएको हो ।
२० वटा बेडको सुविधा सम्पन्न स्थलमा गाउँपालिकाकै लागतमा इन्टरनेट, शुद्ध पिउने पानी, स्वास्थ्यकर खाना–खाजा, पुस्तक–पत्र पत्रिकाको व्यवस्था रहेको छ । स्वास्थ्यकर्मी र सुरक्षा कर्मीको प्रत्यक्ष रेखदेखमा पारिवारिक वातावरण सृजन गरिएको अध्यक्ष सुवेदीले बताए । ‘ल्यापटप अथवा ट्याब्लेटको माग भएमा पनि प्रदान गरिनेछ, ताकि एक्लोपनाको अनुभव नहोस् ।’ अध्यक्ष सुवेदीले भने, ‘ विदेशबाट आउनु भएका सबैजना बसेर सहयोग गरिदिनुहोस भन्ने हाम्रो अपेक्षाहो ।’ आवश्यकता अनुसार ७ वटा विद्यालयहरुलाई क्वारेन्टनाइन स्थलको रुपमा रुपान्तरण गर्ने गाउँपालिकाको योजना रहेको छ ।


