कोरोना महामारी : १ सय ९१ देश प्रभावित, ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय नाघ्यो

Share:

काठमाडौं । कोरोना सङ्क्रमण (कोभिड–१९) बाट विश्वका एक सय ९१ राष्ट्र प्रभावित भएका छन् । कोरोना सङ्क्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय ५४ पुगेको छ भने अहिलेसम्म ३ लाख ३७ हजार पाँच सय ५३ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । ९८ हजार आठ सय ८४ जना उपचारपछि घर फर्किएका छन् ।

कोरोना भाइरस संक्रमण डिसेम्बरको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएपनि अहिले युरोप यसको केन्द्रविन्दु बनेको छ । सबैभन्दा धेरै मानवीय क्षति इटलीमा भएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ५१ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ज्यान गुमाउनेको संख्या ५ हजार ४७६ पुगेको छ । त्यहाँ ५९ हजार १३८ जना सङ्क्रमित छन् ।

पछिल्लो समय इटलीलगायत इरान, स्पेन, फ्रान्स, अमेरिका, बेलायत, स्वीट्जरल्याण्डमा, बेलायत, नेदरल्याण्ड, बेल्जियम, दक्षिण कोरिया, भारतमालगायतका देशमा नयाँ सङ्क्रमण र ज्यान गुमाउनेको संख्या लगातार बढेको छ।

यता नेपालको छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । गुजरातमा आइतबार दिउँसो एक ६७ वर्षीय वृद्धको मृत्यु भएसँगै भारतमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ७ पुगेको हो ।

कोरोना संक्रमित वृद्धको एक निजी अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो । पहिलेदेखिनै मिर्गौला र दमका रोगबाट ग्रस्त उनीमा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।

गुजरातमा मृत्यु हुने उनी पहिलो र भारतमा सातौं बिरामी हुन् । कोरोनाबाट संक्रमित उनी रेलमार्फत दिल्ली, जयपुर हुँदै गुजरातको सूरत आएका थिए । अहिलेसम्म भारतमा ३४१ जना कोरोना संक्रमित भेटिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: