
काठमाडौँ । भारतले नेपाली भूमि मिचेर बाटो बनाएको क्षेत्र लिपुलेक नजिकै नेपालले सुरक्षा पोस्ट खडा गर्ने भएको छ । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सुरक्षा पोस्ट (बिओपी) स्थापना लागिएको हो । त्यसका लागि आज काठमाडौँबाट सशस्त्र प्रहरी बलको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
पहिलो चरणमा दार्चुलाको खलंगाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली लिएर छाङरु जाने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ । सरकारले गत मङ्सिरमा नै यहाँ बिओपी राख्ने निर्णय गरेको भएपनि अहिलेसम्म स्थापना हुनसकेको थिएन ।
केही दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेको थियो । सीमारक्षाका लागि सरकारले तत्कालै त्यस क्षेत्रमा सशस्त्रको टोली पठाउन लागेको हो ।
