
कोरोना भाइरस कोभिड १९ ले विश्व आक्रान्त छ । सहज अवस्था कतै छैन । असहजताको बाबजुत पनि सहयोगी मनहरु सकेको साथ सहयोग गर्दै आएका छन् । जापानको चिवामा बस्दै आएकी नेपाली चेली कामना खनालले यो विषम घडीमा सक्दो सहयोग पठाएकी छिन् ।
पोखरा–१७ छोरेपाटनस्थित मानव सेवा आश्रम र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना परीक्षण गर्ने ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीलाई स्वास्थ्य उपकरणका लागि उनले २० हजार ३१ रुपैंया सहयोग रकम पठाएकी छिन् ।
तनहुँको भानु नगरपालिका टुहुरे पसल घर भई विगत केही वर्षदेखि जापानमा बस्दै आएकी कामनाले कोभिड–१९ को विश्वव्यापी सङ्कटका कारणबाट अप्ठ्यारो अवस्थामा रहेकाहरुका लागि पठाएको उक्त रकम दुई ठाउँका लागि आधा आधा बाँडिदैछ । आश्रममा सहारा लिँदै आएका असहाय, बृद्धबृद्धा तथा बालबालिकाका लागि त्यसमध्ये १० हजार ३१ प्रदान गरिसकिएको छ । सो सहयोग रकम आज गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले आश्रममा हस्तान्तरण गरेकी हुन् ।
खनालले उपलव्ध गराएको सो रकम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका सचिवालय सदस्य त्रिभुवन पौडेलको समन्वयमा मानव सेवा आश्रमलाई आधा रकम प्रदान गरिएको हो । बाँकी रकम १० हजार बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना परीक्षण गर्ने ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीलाई स्वास्थ्य उपकरणका लागि प्रदान गरिने भएको हो ।
मानव सेवा आश्रमले असहाय बालबालिका, युवा तथा वृद्धवृद्धाहरुका लागि निःशुल्क खाना र बस्नको व्यवस्था गर्दै आएको छ । आश्रममा हाल ११७ जनाले आश्रय लिएका छन् । आमा सीमा र बुवा लेखनाथ खनालकी छोरी कामनाले आफूले बैदेशिक रोजगारी मार्फत कमाएको पैसा कोरोना महामारीको बेला असहाय जनता र स्वास्थ्यकर्मीलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।
