
पोखरा । पोखरामा थप एकजना कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पोखरा–९ निवासी ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
उनी महानगरको क्वारेन्टिनमा रहेका थिए । उनलाई अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन कक्षमा ल्याउने तयारी भएको बताइएको छ ।
योसँगै कास्कीका मात्रै ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय १५ पुगेको छ ।
यसअघि आज नै पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जा वालिङका ६० बर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो ।
गण्डकी प्रदेशमा हालसम्म बागलुङका २९ जना, स्याङ्जाका ३८ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका १७ जना, लमजुङका १ जना, म्याग्दीका २ जना, तनहुँका ३ जना, गोरखाका ११ जना र कास्कीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।
संक्रमित मध्ये बागलुङका २ जना र लमजुङका १ जना निको भई घर फर्किसकेका छन् ।
