शहिद क्षेत्रबहादुर केसीको स्मृतिमा विपन्नलाई खाद्यान्न सहयोग

Share:

बिग न्यूज
पोखरा, २७ जेठ । शहिद क्षेत्रबहादुर केसीको सम्झनामा उनको परिवारसँगै उनकै नाममा स्थापित प्रतिष्ठानले विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । लकडाउनको मारका कारण अभावमा बाँचिरहेका दैनिक ज्यालादारी गर्ने ४० परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।

‘आज हाम्रो बुवाले सहादत प्राप्त गरेको १५ वर्ष पुग्यो । बुवा जिवित रहँदा पनि सदैव पीडितहरुको पक्षमा बोल्नुभयो । र, काम गर्नुभयो ।’ शहिद केसीका छोरा मनिस केसीले भने–‘यो पीडाको बेलामा केही जनाको भोक मार्न सक्यौँ भने पनि हामीले बुवाप्रति अझै बढि सम्मान गरेको हुनेछ भनेर खाद्यान्न वितरण गरेका हौँ ।’

खाद्यान्न वितरणमा शहिद केसीका अर्का छोरा अबित केसी, शहिद क्षेत्रबहादुर केसी स्मृति प्रतिष्ठानका अध्यक्ष मिलन केसीसँगै स्थानिय जनप्रतिनिधि र राप्रपा सम्बद्ध नेताहरुको उपस्थिती रहेको थियो ।

तत्कालिन समयमा पोखरा १८ मनकामनाटोल स्थायी घर भएका केसीलाई तत्कालिन बिद्रोही माओबादीहरुले गोली हानी हत्या गरेका थिए । २०६१ सालमा सशस्त्र द्वन्दको बेलामा माओबादीको गोली हानी हत्या गरिएका केसीलाई सरकारले १३ वर्षपछि शहिद घोषणा गरेको हो ।

पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष समेत भैसकेका केसी कास्कीमा निकै लोकप्रिय थिए । सुकुम्बासीलाई व्यवस्थित बासस्थानको उपलब्धता गराउनुसँगै पोखराको वृहत्तर विकासमा उनको योगदानलाई अझै पनि सरोकारवालाहरुले निकै सम्झन्छन् ।

साविकको पोखरा उपमहानगरपालिका वडा नम्बर १८ मा उनी पटकपटक वडा अध्यक्षमा निर्वाचित भएर स्थानियस्तरमा जनताको सेवा गरेका थिए । उनलाई अझै पनि विकासशिल नेताको रुपमा त्यहाँका वडाबासीले लिन्छन् ।

कमेन्ट गर्नुहोस्
Share: