
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विदेशी बुहारीलाई विवाह गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको छ। आज (शनिबार) विहान बसेको पार्टी सचिवालय बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने व्यवस्थामा सहमति जुटाएको हो।
संसदको राज्य व्यवस्था समितिमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सहमति हुन नसकेपछि नेकपाले सचिवालय बैठकबाट ७ वर्षको प्रावधान राख्ने निर्णय गरेको हो। ७ वर्षसम्म सामाजिक, सांस्कृतिक, आर्थिक सम्पूर्ण अधिकार विवाह गरेको दिनदेखि नै प्राप्त गर्नसक्ने गरी आवासीय परिचयपत्र प्रदान गरिनेछ।
यस्तै विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने नेकपा महिला सांसदहरुको माग अस्वीकृत भएको जनाइएको छ । बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई थप समय राखेर भए पनि नागरिकता दिने प्रावधान राख्नुपर्ने धारणा राखेका थिए । तर अरु नेताहरुले असहमति जनाएपछि उक्त माग अस्वीकृत भएको हो।
नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि अड्किएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे भने आज कुनै छलफल नभएको एक नेताले जानकारी दिएका छन् ।
