मिलन फाउन्डेशनद्धारा तमू सञ्चारकर्मीलाई ३१ थान प्रेस ज्याकेट र १० हजार आर्थिक सहयोग

Share:

पोखरा । मिलन फाउन्डेशन नेपालद्धारा तमू सञ्चारकर्मीहरुलाई ३१ थान प्रेस ज्याकेट प्रदान गरिएको छ ।

कोरोना महामारीको बेलामा कार्यक्षेत्रमा खटिएर रिपोर्टिङ गर्ने तमू पत्रकारहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले सो ज्याकेट प्रदान गरिएको फाउन्डेशनले जनाएको छ । प्रदान गरिएको ज्याकेट २२ हजार ५ सय बराबरको रहेको छ ।

आज तमू सञ्चारकर्मीहरुलाई ज्याकेट प्रदान गर्दै फाउन्डेशनकी कार्यबाहक अध्यक्ष देवी गुरुङले स्थापनाकालदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा सक्रिय रहेको फाउन्डेशनले तमू पत्रकारहरुलाई प्रेस ज्याकेट उपलब्ध गराउन पाउँदा ज्यादै खुशी लागेको भन्दै आउने दिनमा फाउन्डेशनको हरेक कार्यक्रमहरुमा तमू सञ्चारकर्मीहरुसँग सहकार्य गर्दै जाने बताए ।

ज्याकेट ग्रहण गर्दै तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालकी महासचिव रोशनी गुरुङले मिलन फाउन्डेशनले सामाजिक क्षेत्रमा गर्दै आएको काम अत्यन्तै सह्रनीय रहेको भन्दै फाउन्डेशनप्रति आभार व्यक्त गरिन् । फाउन्डेशनका संस्थापक हाल हङकङ निवासी समाजसेवी दुर्गा गुरुङ (मिलन) ले विशुद्ध आफ्नो पसिनाको कमाईबाट कसैसँग एक रुपैंयाँ पनि सहयोग नलिइ गर्दै आएको सामाजिक कार्य आफैमा प्रशंसानिय रहेको उनले बताइन् ।

ज्याकेट ग्रहण कार्यक्रममा तमू सञ्चारकर्मी संघका महासचिव रोशनी गुरुङ, केन्द्रिय सदस्यहरु मणिलाल गुरुङ, खिमा गुरुङ र किरण गुरुङको सहभागिता रहेको थियो । फाउन्डेशनका कार्यबाहक अध्यक्ष देवी गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम फाउन्डेशनकी संरक्षक तथा दुर्गा मिलन गुरुङकी आमा सावित्री गुरुङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।

फाउन्डेशनका कार्यक्रम संयोजक हितकाजी गुरुङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम सचिव मदन गुरुङले सञ्चालन गरेका थिए ।
तमू सञ्चारकर्मी केन्द्रिय समितिलाई प्राप्त भएको ३१ थान ज्याकेट मध्ये शनिबार समितिले कास्की जिल्ला समितिलाई १५ थान प्रदान गरेको थियो । तमू सञ्चारकर्मी संघ कास्कीका सचिव सुरज गुरुङलाई सो ज्याकेट प्रदान गरिएको हो ।

यसैबीच आजै तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले स्थापना गरेको आपतकालीन राहतकोषमा ज्याकेटका सौजन्य दाता मिलन फाउन्डेशनले नगद १० हजार रुपैंयाँ प्रदान गरेको छ भने सोही कोषमा फाउन्डेशनकी कार्यबाहक अध्यक्ष देवी गुरुङले ५ हजार र फाउन्डेशनका कार्यक्रम संयोजक हितकाजी गुरुङले पनि ५ हजार रुपैयाँ प्रदान गरेका छन् ।

मिलन फाउन्डेशनले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीलाई पनि कोरोना महामारीको बेला सुरक्ष सामग्री खरिद गर्नका लागि नगद २५ हजार प्रदान गरेको छ भने यसअघि पनि फाउन्डेशनले फोनिज गण्डकीलाई ५० हजार रुपंैयाँ आर्थिक सहयोग गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: