साहस नेपालको राहत कुडहर आधारभुत विद्यालयमा वितरण

Share:

पोखरा । कोभिड १९ कोरोना भाइरसका कारण तिन महिना भन्दा लामो लकडाउनसँगै समस्यामा परिरहेको बेला पोखरा १० कुँडहरस्थित कुँडहर आधारभुत विद्यालयका विद्यार्थीका परिवारलाई बुधवार राहत वितरण गरिएको छ। सामुदायिक विद्यालयमा अध्ययनरत ११४ विद्यार्थीका परिवारलाई सहयोगी हातहरुको संस्था साहस नेपालले युकेको ट्राभल टिर्ससँग समन्वय गरी राहत स्वरुप चामल, दाल, तेल, नुन वितरण गरिएको हो । राहतसँगै सहयोगी संस्थाका तर्फबाट विद्यालयका सम्पुर्ण विद्यार्थीहरुलाई शैक्षिक सामग्री कपी र कलम समेत वितरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि विगतदेखि विद्यालयलाई सहयोग गर्दै आएको गैरसरकारी संस्था सहयोगी हातहरुको संस्था साहस नेपालका निर्देशक डा.सुरेन्द्र श्रेष्ठ र विशेष अतिथि पोखरा महानगरपालिका वडा नं.१० का कार्यवाहक वडाध्यक्ष सम्मरबहादुर श्रेष्ठले राहत सामग्री र शैक्षिक सामग्री हस्तान्तरण गर्दै राहत वितरणको आरभ्म गरेका थिए । कार्यक्रममा विशेष अतिथिहरु पोखरा महानगरपालिका वडा नं.१० का वडा सदस्यद्वय निशा मल्ल ठकुरी, दीपक थापा, साहस नेपालका श्रवण श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङ मैना लगायतले राहत र शैक्षिक सामग्री वितरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि साहस नेपालका निर्देशक डा.सुरेन्द्र श्रेष्ठले कोरोनाको कहरमा विगतदेखि संस्थाले सहकार्य गर्दै आएको विद्यालय परिवारलाई थोरै भने पनि सहयोग गरेको बताए । समस्याका बेलामा संस्थाले सामाजिक उत्तरदायित्व महसुस गरी सहयोगी संस्थाको समन्वयमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै संस्थाले २१ जिल्लामा कार्यक्षेत्र बनाई क्रियाशील रहेको बताए । संस्थाकै समन्वयमा एक वर्ष युकेको ट्राभल्स टिर्स संस्थाले कुँडहर आधारभुत विद्यालयका विद्यार्थीहरुलाई खाजा सहयोग गरेको र भान्छाकोठा समेत निर्माण गरेको जानकारी गराउदै लकडाउनले लामो समय विद्यार्थीहरुलाई बिदा भएकाले घरमा पढ्ने वातावरण गरिदिन अभिभावकहरुलाई आग्रह समेत गरे ।

विशेष अतिथि पोखरा महानगरपालिका वडा नं. १० का कार्यवाहक अध्यक्ष सम्मरबहादुर श्रेष्ठले कोरोनाको महामारीका बेला विपन्न वर्गका विद्यार्थीहरु अध्ययन गर्ने विद्यालयका विद्यार्थीका परिवारलाई खाद्यान्न राहत र विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउने साहस नेपाल लगायतका सहयोग संस्थाहरुलाई धन्यवाद दिनुभयो। उहाँले समस्याको बेला सहयोग गरी दुखमा साथ दिन सबैलाई आग्रह गर्दै वडा नं.१० मा हालसम्म २५ सय भन्दा बढी परिवारलाई राहत सामग्री वितरण गरेको जानकारी दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङ मैनाले सहयोगी संस्था साहस नेपाल लगायत सबैले सहयोगी र अतिथिहरुलाई धन्यवाद दिनुहुदै विद्यालयको भौतिक एवम शैक्षिक विकासका लागि गैरसरकारी संस्था सहयोगी हातहरुको संस्था साहस नेपालसगै ट्राभल टिर्स युके र पोखरा महानगरपालिका वडा नं. १० वडा कार्यालयलाई आभार व्यक्त गरे । अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक निलकण्ठ पाठकले स्वागत र शिक्षक कमला लम्सालले कार्यक्रम संचालन गरेका थिए ।

राहत ग्रहण पश्चात अभिभावकहरुले सहयोगीहरु नै आफ्ना लागि भगवान भएको प्रतिक्रिया दिएका थिए। सरकारले दिनुपर्ने राहत साहस नेपालले प्रदान गरेको उनीहरुको भनाई थियो । शैक्षिक सामग्री प्राप्त गरेका विद्यार्थीहरुले भने हाम्रो पढाई कहिले हुन्छ भन्ने प्रश्न गरेका थिए। कापी कलम त पायौं, स्कुल खुलेको छैन के लेख्ने ? उनीहरुको थप प्रश्न थियो।

कमेन्ट गर्नुहोस्
Share: