
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस हावाबाट सर्ने भेटिएको जनाएको छ। यसअघि विश्वका ३२ देशका दुई सय ३९ वैज्ञानिकहरुले गरेको अध्ययनले हावामा फैलने कोरोना भाइरसले पनि मानिसलाई संक्रमित बनाउन सक्ने पुष्टि गरेको थियो।
वैज्ञानिकहरूले कोरोनाबारेको मापदण्डमा परिवर्तन गर्न डब्लुएचओलाई पत्र नै लेखेका थिए। तर, वैज्ञानिकहरूले दिएको प्रमाण पर्याप्त नभएको जनाउँदै डब्लुएचओले सजगता मापदण्ड परिवर्तन गर्न मानेको थिएन ।
डब्लुएचओकी टेक्निकल डाक्टर मारिया भान केरखोवका अनुसार हावाबाट कोरोना फैलिने विषय अहिले पनि अध्ययन मै रहेको र केहि प्रमाण भने भेटिएको छ। डब्लुएचओले यस बारेमा अझै विस्तृत अध्ययन भइरहेको जनाएको छ।
डब्लुएचओले कोरोना भाइरस मुख्य रुपमा हाँछ्यु गर्दा या बोल्दा नाक र मुखबाट निस्केको सुक्ष्म छिटाबाट सार्ने बताउँदै आएको छ भने ती वैज्ञानिकहरुले हाँछ्यु गरेपछि निस्कने छिटा हावामा जति टाढासम्म जान सक्छ, तिनमा भएका भाइरसले मानिसलाई संक्रमित बनाउनसक्ने दाबी गरेका छन्।
