
काठमाडौँ । मुलुकको २८औँ प्रहरी महानिरीक्षक (आइजी) मा अतिरिक्त महानिरीक्षक (एआइजी) शैलेश थापालाई नियुक्त गरिएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा थापालाई बढुवा गर्ने निर्णय गरेको हो ।
बुधबार रातिदेखि हालका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे अनिवार्य अवकाश लिने भएकाले मन्त्रिपरिषद्ले थापालाई आइजीमा बढुवा गरेको हो। थापाले बिहीबारदेखि कार्यभार सम्हाल्नेछन् । थापाको कार्यकाल आगामी विसं २०७९ साल वैशाखसम्म रहनेछ। हाल उनी प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभाग विभागमा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
भक्तपुरको कटुञ्जे (हालको सूर्यविनायक नगरपालिका)मा जन्मिएका थापा अब्बल प्रहरी अधिकृत हुन्। विसं २०४९ मा प्रहरी निरीक्षक भएदेखि नै उनी कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट हुँदै आएका थिए। अहिले महानिरीक्षकका लागि पनि थापा पहिलो नम्बरमै थिए। विसं २०७५ असोजमा डिआइजी भएका थापा गत साल चैत ९ गते एआइजीमा बढुवा भएका थिए।
प्रहरीका एक जना एसएसपीका अनुसार बुधबार साँझ प्रहरी प्रधान कार्यालयमा महानिरीक्षक ज्ञवालीको विदाइका लागि एक कार्यक्रम राखिएको छ । नयाँ महानिरीक्षकको फूली लगाउने कार्यक्रम भने बिहीबार राखिएको छ । त्यसपछि उनलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गरिने जनाइएको छ ।
