म्याग्दी पहिरोः १२ जनाको शव भेटियो, २३ जना अझै बेपत्ता

Share:

पोखरा । म्याग्दीको पहिरोमा परी हराइरहेकामध्ये १२ जनाको शव भेटिएको छ । २३ जना अझै बेपत्ता छन् ।

बिहीबार राति परेको वर्षाका कारण म्याग्दीका विभिन्न ठाउँमा गएको बाढीपहिरोमा परेर धेरै मानिस वेपत्ता भएका थिए । शुक्रबार तीन जनाको शव भेटिएको थियो ।

धवलागिरि गाउँपालिका ६ मराङमा एक बालकसहित ९ जनाको शव भेटिएको म्याग्दी प्रहरीले जनाएको छ । कल्लेनीमा एक, ठूलोगाउँमा एक र राम्चेमा सात जनाको शव भेटिएको हो । सात जना वेपत्ता भएको रिखमा सुरक्षाकर्मीको टोली जाँदैछ ।

रघुगङ्गा–६ ठाडाखानीमा बाढीले बगाएर वेपत्ता भएका नलिमान छन्त्यालको शुक्रबार नै शव भेटिएको थियो ।मालिका गाउँपालिका–७ बिमको तल्लोगाउँ, नौरु र दुलेमा वेपत्ता आठको खोजीमा शनिबार बिहान आएका सेना, शसस्त्र र प्रहरीको टोलीले काम सुरु गरेको वडाअध्यक्ष रेशम जुग्जालीले बताए। नेपाली सेनाको हेलिकप्टरमार्फत वेपत्ताको खोजी र उद्धारका लागि शनिबार बिहान सुरक्षाकर्मी घटनास्थल पुगेका हुन् ।

गोलिक बिकटता र प्रतिकूल मौसमका कारण शुक्रबार बिहान पहिरो गएको ठाउँमा २४ घण्टापछि मात्रै सुरक्षाकर्मी पुगेका हुन् । शुक्रबार नै उद्धार टोली लिएर हेलिकप्टर जान लागेको थियो । तर पानी र हुस्सुका कारण तीन पटकसम्म हेलिकप्टर फर्किएको थियो ।

अझै बेपत्ता हुनेहरुमा धवलागिरि ६ मराङका १४ जना र मालिका गाउँपालिका ७ बिमका ९ जना छन् । धवलागिरि गाउँपालिका ७ ताकमका पहिरोमा परि ज्यान गुमाएका २ र रघुगंगा गाउँपालिकाको डाडाखानीमा खोलाले बगाएको एक जनाको शव शुक्रबार नै फेला परेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: