कालीगण्डकीमा पानीको बहाव २७ वर्ष यताकै उच्च, विश्वकै ठूलो शालिग्राम डुवानमा

Share:

पर्वत । अविरल वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव २७ वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ । मुस्ताङबाट शुरु भई म्याग्दी, पर्वत र बागलुङ हुँदै बग्ने कालीगण्डकी नदीमा पानीको सतह २७ वर्ष यताकै उच्च बिन्दुमा पुगेको हो ।

विसं २०५० साउनमा कालीगण्डकी नदीले नौ गेज मिटरको उचाइ छोएको थियो । सत्ताइस वर्षपछि यसपटक पनि उक्त बिन्दु पार गरेको कालीगण्डकीमा गेज मिटर मापन (पानीको बहाव मापन) गर्दै आएका स्थानीय गेज रिडर कृष्णबहादुर सुवेदीले जानकारी दिए ।

प्रत्येक वर्ष कालीगण्डकी नदीले वर्षायाममा पानीको बहाव बढ्दा सरदर ७ देखि ८ गेज मिटरको उचाइ छुने गरेको भएपनि यो वर्ष ती विगतका सबै रेकर्ड तोडेर उच्च विन्दु पार गरेको सुवेदीले जानकारी दिए । प्रत्येक दिन बिहान नदीमा पानीको सतह नाप्ने र पानीमा बालुवाको मात्रा अध्ययन गरी जल तथा मौसम विज्ञान विभागको पोखरा कार्यालयलाई विवरण उपलब्ध गराउने गरेको समेत उनले जानकारी दिए ।

यसैबिच पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका वडा नम्बर ६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला पनि डुवानमा परेको छ ।

शिला डुवानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितहरुसमेत विस्थापित भएका छन् । शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायतका सबै संरचना डुबेका छन् । शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबीयन समेत पानीले पूर्णरुपमा क्षति पुराएको छ ।मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ए जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीबेणीबजार डुबानको खतरामा छ ।

नदीमा पानीको बहाव बढेसँगै सबैभन्दा बढी जोखिम कालीगण्डकी नदीको किनारमै रहेको म्याग्दीको बेनी बजार, पर्वतको बारी बेनी बजार, पर्वतको मालढुङ्गामा रहेको माझी बस्ती, सेतीवेणी बजार लगायतका क्षेत्र उच्च जोखिममा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: