
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी असोजमा गर्ने तयारी गरेको छ ।
सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेसँगै बोर्डले तयारी अगाडि बढाएको छ ।
असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको बोर्डले जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएपछि परीक्षाको तयारीलाई तीव्रता दिने बोर्डले जनाएको छ ।
यसैबिच बोर्डले कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयले नै लिने गरी कार्यविधि पनि पारित गरेको छ । कक्षा ११ को परीक्षा अब विद्यालयले नै लिने निर्णय गरिसकेको र त्यसका लागि कार्यविधि पनि पारित भइसकेको जनाइएको छ ।
विद्यालयले कक्षा ११ को परीक्षा लिँदा बोर्डले यसअघि लिएको जस्तै गरी लिनुपर्ने र प्रमाणीकरण एवं मूल्यांकन पनि विद्यालयले गर्नुपर्नेछ ।
बोर्डले पारित गरेको कार्यविधिअनुसार कक्षा ११ को परीक्षा, प्रमाणीकरण एवं मूल्यांकन विद्यालयले नै गर्ने, कक्षा १२ को जुन तरिकाले ग्रेडिङ गरिएको छ सोहीअनुसार ग्रेडिङ गर्ने, पाठ्यक्रमअनुसारै प्रश्नपत्र निकाल्नु पर्नेछ ।
यस्तै कक्षा ११ मा डी प्लसको ग्रेडिङ नआएका विद्यार्थी कक्षा १२ मा भर्ना हुन नपाउने भएका छन् । विद्यालयले आफ्नो अनुकूलतामा परीक्षा लिन सक्ने बोर्डले जनाएको छ ।
