
पोखरा । नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक क.पुष्पलाल श्रेष्ठका युगजयी विचारको अध्ययन अनुसन्धान गर्ने स्थलका रुपमा केन्द्र सञ्चालनमा आउने भएको छ ।
पुष्पलाल अध्ययन केन्द्रको सकृयतामा पोखरा महानगरपालिका वडा नं. २१ फेदीपाटनमा एक करोड ५० लाख रुपैयाको लागतमा निर्मित तीन तल्ले पक्की भवनमा अध्ययन केन्द्र स्थापना गरि सञ्चालनको तयारी गरिएको हो ।
तत्कालिन जहानीया राणा शासनका विरुद्धमा आवाज उठाउँदै नेपाली जनताको स्वतन्त्रताका पक्षमा कम्युनिष्ट विचारधारलाई अघि बढाएका पुष्पलालका विचारलाई जीवन्त राख्ने सोचका साथ अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको केन्द्रका अध्यक्ष एवम् नेकपा गण्डकी प्रदेश सह इन्चार्ज खगराज अधिकारीले बताए ।
“नेपाली कम्युनिष्ट आन्दोलनको जग बसाल्दै पुष्पलालले अघि सार्नुभएका दर्शन र सिद्धान्तलाई जीवन्त राखी भावी पुस्ता माझ पु¥याउने सोचका साथ अध्ययन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेका हौं,” – उनले भने ।
अधिकारीका अनुसार नवनिर्मित भवनमा ई पुस्तकालय, तालीम कक्ष, पुष्पलालको सम्बन्धमा अध्ययन अनुसन्धान तथा खोजी गर्ने व्यक्ति वा संस्थाका लागि आवश्यक नविनतम प्रविधि सहितको वातावरण तयार गरिने छ ।
केन्द्रले १० लाख रुपैयाँमा खरिद गरेको ८ आना जग्गामा संघ र स्थानीय सरकार सहित विभिन्न संघसंस्था एवम् व्यक्तिको आर्थिक सहयोगमा सो भवन निर्माण गरिएको उनले बताए ।
नेपाल कम्युनिष्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ पुष्पलालले २००६ साल बैशाख १० गते नेकपाको स्थापना गर्नुभएको जानकारी दिंदै अधिकारीले विश्व कम्युनिष्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गरि प्रकाशन गरेपछि नेपालमा कम्युनिष्ट आन्दोलनको विजारोपण भएको उल्लेख गरे ।
केन्द्र भवनको अग्रभागमा पुष्पलाल र पोखरा १६ बाटुलेचौर जन्मस्थान भएका उनका सहपाठी एवम् अनुयाई कम्युनिष्ट नेता बलराम उपाध्याय तिमल्सिनाको अर्धकदको शालिक निर्माण गरिएको छ ।
उक्त स्थानमा रहेको लगभग एक सय रोपनी सार्वजनिक जग्गाको संरक्षण गर्दै जननेता मदन भण्डारी लगायतका नेताहरूको शालिक निर्माण सहित आवश्यक भौतिक पूर्वाधार तयार गरि अध्ययन अनुसन्धान एवम् आकर्षक पार्कको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
नवनिर्मित भवनमा सभाहल सहित पुस्तकालय एवम् बैठक, प्राविधिक र अतिथि कक्ष गरी १२ वटा कक्ष रहेको पुष्पलाल अध्ययन केन्द्रका महासचिव एवम् भवन निर्माण समितिका अध्यक्ष भिम कार्कीले जानकारी दिए ।
उनका अनुसार कूल एक करोड ५० लाख रुपैयाँको लागत मध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट भवन निर्माणका लागि पटक पटक गरि एक करोड २० लाख रुपैयाँका साथै फर्निचरका लागि २९ लाख रुपैयाँ प्राप्त भएको छ । त्यस्तै भवन निर्माणकै लागि पोखरा महानगरपालिकाबाट १० लाख रुपैयाँ पाप्त भएको उनले बताए ।
अध्ययन केन्द्र रुपमा संग्रहालय रहने र त्यहाँ पुष्पलालका जीवनीका विभिन्न पक्ष समेटिने किसिमका सामग्री राख्ने तयारी गरिएको छ । उक्त परिसरमा पुष्पलाल बाटिका निर्माण गरिने योजना अनुरुप प्रत्येक वर्ष पुष्पलाल स्मृति दिवसका अवसरमा बृक्षारोपण समेत गरिँदै आइएको छ ।
केन्द्रसम्म सर्वसाधारणको सहज पहुँच विस्तारका लागि गण्डकी प्रदेश सरकारको पहलमा पोखरा महानगरपालिका वडा नं १७ र २१ जोड्नका लागि फुस्रे खोला माथि १४ करोड रुपैयाँको लागतमा पक्की पुल निर्माण गर्ने तयारी समेत भैरहेको पुष्पलाल अध्ययन केन्द्रले जनाएको छ ।
पुल निर्माणसंगै पोखरा महानगरपालिका वडा नं. २१ र ३३ सहित स्याङजा जिल्लाको पूर्वी भेगका जनतालाई आवत जावतमा सुविधा पुग्ने स्थानीय गुरुप्रसाद पौडेलले जानकारी दिए ।
वि.सं ९१८१ साल असार १५ गते रामेछाप जिल्लाको भंगेरीमा बाबु भक्तलाल र आमा तुलसीमाया श्रेष्ठबाट जन्मेका क. पुष्पलालको निधन २०३५ साल साउन ७ गते आजैका दिन भारतको नयाँ दिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
स्मृति दिवसका अवसरमा पोखरा ७ शान्तिनगरस्थित पुष्पपाल स्मृति पार्कमा रहेको अर्धकदको शालिकमा आज नेकपाका नेता तथा कार्यकर्ताले माल्यार्पण गरेका छन् ।
