‘न्यायका लागि साझा तराजु यात्रा’ पोखरामा पनि, प्रधानन्यायाधीशको राजिनामा माग (फोटो/भिडियो)

Share:

पोखरा ।  सर्वोच्च अदालतबाट एक पछि अर्काे चकित् पार्ने फैसला आएपछि नागरिक स्तरमै चर्को असन्तुष्टि बढेको छ । श्रीमती गीता ढकालको हत्या गरी जलाएर सर्वस्वसहित जन्मकैद परेकासशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउँदै रिहाई भएपछि यस फैसलाविरुद्ध प्रदर्शन भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साढे ११ बर्ष कैद छुट दिएर साढे ८ वर्षमै रिहा गरेपछि शुक्रबार राजधानी केन्द्रित रहेर केहि अभियानकर्मीले सर्वोच्चको फैसलाप्रति सार्वजनिक रुपमै सामूहिक असन्तुष्टि जनाए । शनिबार पनि प्रदर्शन भएका छन् ।

यससँगै रक्सीको मातमा कार चलाएर फुटपाथमा हिँडेकी महिलाको ज्यान लिने पृथ्वी मल्ललाई धरौटीमा छाड्न न्यायाधीश सपना प्रधान मल्ल र मनोजकुमार शर्माको इजलाशले आदेश दिएपछि न्यायाधीश सपना मल्लको पनि चर्को बिरोध भइरहेको छ । मानसिक रोग लागि अशक्त भए मात्रै धरौटीमा छाड्न मिल्ने कानुनी व्यवस्थाको तजबिजी व्याख्या गरी सर्वोच्चले मानसिक अस्पतालको ओपीडी पुर्जी देखाएका भरमा ज्यान मुद्दाका आरोपितलाई छाड्ने ‘आश्चर्यजनक’ आदेश दिएको थियो ।

सर्वोच्चबाट लगातार यसरी चित्तबुझ्दो फैसला नआएपछि नागरिक सडकमै उत्रेका हुन् । साझा पार्टीले काठमाण्डौ, पोखरा सहितका शहरमा प्रदर्शन गरेको छ । पोखरामा साझा पार्टी गण्डकी प्रदेश अभियान विभाग र कास्की जिल्ला कमिटिले शनिबार मौन प्रदर्शन गरेको हो । टाउकोमा कालो टालो बेरेर हात हातमा उनीहरुले प्लेकार्ड बोक्दै प्रदर्शन गरे ।

सहभागीहरुले प्लेकार्डमा प्रस्तुत गरेका नारा यस्ता छन्ः

के न्याय मरेकै हो ?
गीता ढकाललाई न्याय देउ,

त्रुटिपूर्ण फैसला रद्द गर
पीडितलाई न्याय गर

गैरन्यायिक फैसला चाहिदैन
अपराधीलाई उम्काउन पाइदैन

न्यायलयको गरिमा कायम गर
भ्रष्ट न्यायाधीशलाई कार्वाही गर

स्वतन्त्र अदालत अभ्यास गर
राजनीतिक हस्तक्षेप बन्द गर

अपराधको उन्मुक्ति चाहिँदैन
रन्जन कोइराला छोड्न पाईदैन

क्रूर हत्यारालाई जन्मकैद गर
पीडितलाई न्याय गर

न्यायमा समान पहुँच कायम गर
गैरन्यायीक फैसला खारेज गर ।

अदालतको गिर्दो साख जोगाउ
अपराधी नजोगाउ ।

महिला हिंसा सहिदैन
अनुहार हेरेर फैसला फेर्न पाईदैन ।

न्याय हाम्रो अधिकार हो
जनहितको रक्षा गर

न्यायकर्मीबाट न्यायमाथि आक्रमणः संयोजक खनाल

प्रदर्शन अवधि सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै साझा पार्टी कास्कीका संयोजक अर्जुन खनालले हत्यारालाई न्यायलयबाट छुट मिलेको भन्दैे यस्तो अवस्था र परिदृश्य नेपालमा देखिनु अचम्मको कुरा भएको बताए । ‘अचम्मको अवस्था आयो, यो न्याय पैसामा बिक्दो रहेछ यो न्याय हतियार, बन्दुक र रगतमा खेल्दो रहेछ । न्यायालयले न्यायको हत्या गरेको नेपालको यस्तो खालको परिदृश्य विरुद्ध साझा पार्टी उत्रेको छ । न्यायालयमाथि राजनीतिक कुदृष्टि पर्नुहुँदैन। ’ खनालले भने ।

काठमाण्डौमा मिश्रले भनेः प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुस्

उता, काठमाण्डौमा साझा पार्टीका संयोजक रविन्द्र मिश्रले महाअभियोग लगाउन योग्यहरुलाई नियुक्त गर्नेहरुलाई जनताले महाअभियोग लगाउनुपर्ने बताए । महाअभियोग अघि नै राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सुझाए । संसदले महाअभियोग लगाए सर्वोच्च निकम्मा छ भन्ने सन्देश जाने भन्दै उनले अदालतको सम्मानका लागि पनि राजीनामा दिन प्रधानन्यायाधीशलाई आग्रह गरेका हुन् ।
‘न्यायका लागि साझा तराजु यात्रा’लाई माइतीघर मण्डलामा सम्बोधन गर्दै उनले भने, ‘तपाई असाध्यै विवादित हुनुभयो, तपाईले गरेका निर्णय शंकाको घेरामा छ । तपाईले गरेको निर्णयलाई जनताले स्वीकार गर्न सकेका पनि छैन ।’

साझा पार्टीका संयोजक कमिश्रले सुशील कार्कीमाथि महाअभियोग लगाउनेहरुले भ्रष्ट प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई महाअभियोग लगाउँछन् भन्ने विश्वास गर्न नसकिने पनि बताए । बखुण्डोलस्थित पार्टी कार्यालयबाट सुरु भएको यात्रा माइतीघर मण्डलामा पुगेर टुंगिएको थियो ।

पोखरामा भएको प्रदर्शनका केही झलकहरु

कमेन्ट गर्नुहोस्
Share: