नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुग्यो

Share:

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा ७० जना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्।

गौतमका अनुसार वीरगन्जका तीन, सिरहा र सर्लाहीका एकएक जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि शुक्रबार मन्त्रालयले गरेको हो ।

मृत्यु हुनेमा पर्साको वीरगन्ज–९ का ४५ वर्षीय पुरुष रहेका छन् । उनको साउन २२ गते पाटन अस्पतालमा मृत्यु भएको हो । उनी मधुमेह र उच्च रक्तचापबाट पीडित थिए ।

त्यसैगरी वीगन्ज ११ का ६९ वर्षीय पुरुषको साउन २० गते राति मृत्यु भएको हो । मृत्युपछि उनमा कोरोना पुष्टि भएको हो ।

यस्तै वीरगन्ज ११ कै ५७ वर्षीय पुरुषको साउन २२ गते मृत्यु भएको छ । वीरगन्जस्थित गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका पुरुष मधुमेहका रोगी थिए । उनमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।

त्यस्तै मन्त्रालयले शुक्रबार सिरहा गोलबजार–१२ स्थायी घर भएका २५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको पुष्टि गरेको छ । उनको साउन २२ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । मिर्गौलाका बिरामी उनी डायलासिस गराइरहेका थिए । उनलाई जनकपुरबाट रिफर गरिएको थियो ।

यसैगरी सर्लाहीका एक ४५ वर्षीय पुरुषको शुक्रबार पाटन अस्पतालमा निधन भएको छ । उनी साउन १९ गते उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: