
पोखरा । अहिले विहान देशका केही स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका अधिकांश भूभागहरुमा सामान्य देखि पूर्ण बदली रही प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिमका केही स्थानहरुमा भारी वर्षा पनि भैरहेको जनाइएको छ ।
मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले देशका धेरै ठाउँमा रातिदेखि नै वर्षा भैरहेकोे महाशाखाले जनाएको छ ।
आज देशभरको मौसममा सामान्य देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
अविरल वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढ्ने हुँदा तटीय क्षेत्र, भिरालो जमिन र निकास नहुने ठाउँका मानिसलाई सावधानी अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।
