
काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट धनुषाका २ जना, काभ्रेका १ जना र सिन्धुपाल्चोकका १ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।
मन्त्रालयका अनुसार धनुषाको विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो ।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा गएराति १० वजे उनको मृत्यु भएको हो । उनी क्षयरोगका बिरामी समेत थिए।
यस्तै धनुषाको मिथिला बिहारी–५ निवासी ५० वर्षीय पुरुषको पनि साउन २५ गते मृत्यु भएको छ । उनी क्यान्सर अस्पताल जनकपुरका कर्मचारी थिए ।
काभ्रेको पाँचखाल–१ निवासी ५० वर्षीया महिलाको मंगलबार किस्ट मेडिकल शिक्षण अस्पताल ललितपुरमा मृत्यु भएको हो ।
यसैगरी सिन्धुपाल्चोकको बाह्रबिसे–४ निवासी ८४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको साउन २२ गते मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान सेन्टर शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको थियो ।
