
देशकै ठूलो महानगरपालिका पोखरा महानगरपालिकामा पनि कोरोना नियन्त्रणका लागि लकडाउनकै आवश्यकता परेको छ । पोखरालाई एक हप्ता कडा हिसाबले शिल गर्ने तयारीमा पोखरा महानगरपालिका पुगिसकेको छ । पोखरा शिल गर्ने निर्णयको औपचारिक जानकारी भने सार्वजनिक भइसकेको छैन ।
पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको सोमबार बिहान बसेको बैठकले १ हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको हो । यसअघि, आइतबार राजनीतिक दलसँग महानगरपालिकाले सर्वदलीय बैठक गरेको थियो । उक्त बैठकमा दलका प्रतिनिधिले १ हप्ता कडा निषेधाज्ञा गर्न सुझाव दिएका थिए ।
आजै सोमबार मध्येराति १२ बजेबाट सुरु हुने निषेधाज्ञा भदौ ८ गते जारी रहनेछ । त्यसपछि संक्रमित बढेनबढेको अवस्था हेरेर निषेधाज्ञालाई जारी राख्ने कि नराख्ने निर्णय हुने महानगर श्रोतले जनाएको छ । बैठकमा भएको निर्णय सिधै जिल्ला स्थित विपद व्यवस्थापन समितिमा पुग्नेछ । त्यसपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्व रहेको सिसिएमसीले सिफारिस अनुसार निर्णय गर्नेछ । यसको नेतृत्व सिडिओले गर्छन् ।
तीजसँगै दशैं पनि मुखैमा आएकाले बजारमा अत्यधिक भिडभाड हुने र पोखरामा कोरोना समुदायस्तरमा फैलिसकेककाले लकडाउनको विकल्प नभएको महानगरका मेयर मानबहादुर जिसी बताउँछन् ।
अब लकडाउनको अवधिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी तथा अत्यावश्यक सामाग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट अनुमति नलिएका गाडी गुड्न पाउँदैन । अत्यावश्यकीय सामानका पसलहरु मात्र खुल्नेछन् । खाद्यान्न र औषधि पसलबाहेक अरु सबै पसल बन्द रहने छन् । नजिकको पसलमा खाद्यान्न किन्न बाहेक घरबाहिर निस्कनलाई निषेध हुनेछ ।
