
काठमाडौँ । सिन्धुपाल्चोकको जुगल–२ लिदीमा शुक्रबार गएको पहिरोमा परी हराइरहेकामध्ये २२ जनाको शव भेटिएको छ । १७ जना अझै बेपत्ता रहेका छन्। उनीहरुको खोजि कार्य जारी रहेको छ ।
सिन्धुपाल्चोक प्रहरीका नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोलीले आज थप तीन जनाको शव निकालिएको हो। पहिरो गएको दिन शुक्रबार ११ जना, शनिबार थप सात र आइतबार एक जनाको शव निकालिएको थियो। आइतबार र सोमबार फेला परेको शवको पहिचान पनि भएको छ।
गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार मृत्यु हुनेमा १२ वर्षीय हिन्तोष दोङ, ६ वर्षीय सुमन दोङ, १० वर्षीय सुमन दोङ र २२ वर्षका अजय दोङ रहेका छन् । यस अघि १८ जनाको शवको पहिचान भइसकेको छ।
जुगल गाउँपालिकाले पहिरोमा परि मृत्यु भएका २२ र बेपत्ता १७ जनाको घरपरिवारलाई किरिया खर्च र तत्कालको राहतका लागि जनही एक लाख २५ हजारको दरले वितरण गरेको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।
