
काठमाडौँ । सरकारले लामो दूरीका गाडी र आन्तरिक उडान भदौ मसान्तसम्म नचलाउने निर्णय गरेको छ ।मन्त्रिपरिषदको आइतबार बेलुकी बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि सरकारले भदौ १६ गतेदेखि लामो तथा छोटो दुरीका सवारीसाधन चलाउने निर्णय गरेको थियो।
लकडाउन सुरु भएको साढे ३ महिनापछि सरकारले गत असार २६ गतेदेखि छोटो दुरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको थियो। तर आफ्ना माग संबोधन नभएको भन्दै यातायात व्यवसायीले तत्काल सेवा सुचारु गरेका थिएनन्।
माग संबोधन भएपछि उनीहरु साउन ७ गतेदेखि यातायात सञ्चालन सुचारु गर्न सहमत भएका थिए। तर सरकारले लामो दुरीका सवारी सञ्चालनमा भदौ १ गतेसम्म रोक लगायो। साउन ६ गते अन्त्य भएको लकडाउनपछि देशभर कोरोना संक्रमित बढेपछि सरकारले लामो दुरीका सवारी साधन सञ्चालन भदौ १५ गतेसम्म रोक लगाएको थियो।
कोरोना संक्रमण बढ्दै गएकाले मुलुकका अधिकांश स्थानमा अहिले छोटो दुरीका सवारी साधन सञ्चालनमा समेत रोक लगाएर पुर्णरुपमा निषेधाज्ञा लागु गरिएको छ।
यस्तै यसअघि भदौ १५ अर्थात आजदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो । कोरोना सङ्क्रमण झन बढ्दै गएपछि मसान्तसम्म उडान स्थगित गर्ने निर्णय भएको सरकारले जनाएको छ ।
अन्तर्राष्ट्रिय उडान भने सर्त सहित भदौ १६ गतेदेखि सञ्चालन गर्ने निर्णय कायमै राखिएको छ । यस्तै विद्यालय र कलेजसहितका शिक्षण संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको छ ।
बैठकले हङकङमा उदयबहादुर रानामगर, ल्हासामा नवराज ढकाललाई महावाणिज्य दूत नियुक्त पनि गरेको छ।
