
काठमाडौँ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ।
कोरोना भाइरसबाट संक्रमितसमेत बनेका मुखर्जीको उपचारका क्रममा सोमबार दिल्लीस्थित आर्मी आरआर अस्पतालमा निधन भएको हो। सोही अस्पतालमा उनको मस्तिष्कको सर्जरी पनि गरिएको थियो ।
गत मंगलबारदेखि नै मुखर्जीको स्वास्थ्यअवस्था कमजोर बन्दै गएपछि सोही दिन रात उनलाई भेन्टिलेटरको सहायतामा राखिएको थियो ।
उनका छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्विटरमार्फत् उनको निधन भएको पुष्टि गरेका हुन् ।
उनी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए । उनी सन् २००९ देखि २०१२ सम्म रक्षामन्त्री र सन् २००४ देखि २००६ सम्म विदेशमन्त्री थिए ।
मुखर्जीको निधनमा भारत सरकारले सात दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ ।
