
लेखनाथ । गएरातिको अविरल वर्षापछि आएको पहिरोले पोखरा २८ मा ठुलो मात्रामा किसानहरुले लगाएको धानबालीमा क्षति पुर्याएको छ ।
स्थानिय मैदीपाखो सामुदायीक वनमा मंगलबार विहान ८ बजेतिर गएको पहिरोले धान खेत बगाउनुका साथै पुर्दा ५० रोपनी भन्दा वढी क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको हो ।
वर्षभरी खाने धानवाली नष्ट भएपछि किसानहरु चिन्तीत भएका छन् भने राहत एवं क्षतिपुर्ति उपलब्ध गराईदिन सरकारसँग माग गरेका छन् । पहिरोले कुनै मानविय क्षति भने भएको छैन ।
रुखविरुवाहरु भएको वन क्षेत्रमा पहिरो जाँदा वनमा रहेका १५ सय भन्दा वढिको संख्यामा साल, चिलाउने, कटुस लगायतका ठुला रुखहरु समेत बगाएको मैदीपाखो वन उपभोक्ता समितिका अध्यक्ष भोलानाथ त्रिपाठीले जानकारी दिए ।
पहिरोले पुर्याएको क्षतिको सम्बन्धमा बुधबार स्थलगत निरिक्षण गरी क्षतिपुर्ति एवं राहतको लागि महानगरपालिका सँग समन्वय गरिने वडा नं. २८ का अध्यक्ष निर्मल दियालीले जानकारी दिए ।
