
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
शनिबार राति गएको पहिरोमा आइतबार ११ जनाको शव भेटिएको र आज सोमबार बिहान थप दुई जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ । आज बिहान २२ वर्षीय कुमार विक र २१ वर्षीया सोनिया विक को शव फेला परेको हो ।
आइतबार ९८ वर्षीया ट्याक्सी शेर्पा, ६३ वर्षीया भक्तिमाया श्रेष्ठ, २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल विक, आठ वर्षीय सन्देश विक, ६० वर्षीया सर्किनी नेवार र ६५ वर्षीय धनलाल विक रहेका छन् । यस्तै ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षीया ज्ञानीमाया प्रधान, २५ वर्षीय कर्णबहादुर श्रेष्ठ र पाँच वर्षीया सरस्वती विकको शव निकालिएको थियो ।
पहिरोमा अझै १८ जना बेपत्ता छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट तीन वटा टोली बनाइ नेवार टोल, लामा टोल र विक टोलमा उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै जिल्ला विपद् व्यवस्थापन समितिबाट पीडित परिवारका लागि त्रिपाल, टेन्ट, कम्बल, किट तथा भाँडाकुँडा पठाइसकेको र खाद्यान्नका लागि बाह्रबिसे नगरपालिकाबाट व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन् । विस्थापित ५८ परिवारलाई हिजो नै सुरक्षित स्थानमा राखिएको छ ।
पहिराबाट २२ घर पूर्णरुपमा क्षति भई ३१ जना बेपत्ता भएका थिए । आंशिकरुपमा क्षति भएका घरको लगत सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ ।
