आज विश्वकर्मा पूजा गरिँदै

Share:

पोखरा । आश्विन सङ्क्रान्तिका दिन आज (बिहीबार) कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।

विभिन्न कलकारखाना, यातायात लगायतका फलामे औजारहरुलाई सजाउने र विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गर्नुका साथै प्रसाद चढाउने गर्दछन् ।

आजका दिन फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिक्ने विश्वास छ । विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी पूजाआजा गर्ने चलन रहेको छ । विश्वकर्मा पूजाको अवसरमा वर्षभरी कुनै अप्रिय घटना नहोस् भनेर मेसिन तथा औजारहरुको पूजा गर्ने चलन छ ।

गत चैत ११ गतेदेखि नै धेरै कलकारखाना बन्द छन् । खुला भएकामा पनि थोरै जनशक्तिले मात्र भौतिक दूरी कायम गरी काम गरिरहेका छन् ।

झण्डै ६ महिनापछि आजदेखि लामो दूरीका सार्वजनिक गाडी चल्दैछन् । आज विश्वकर्मा पूजा गरेपछि गाडी चलाउने यातायात व्यवसायीले बताएका छन् ।

यसै दिन नेपालमा अमृत क्याम्पस (अस्कल) का संस्थापक अमृतप्रसाद प्रधानको सम्झनामा विज्ञान प्रविधि दिवस मनाइने गरेको छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढ्दै गएकाले सुरक्षित भएर दिवस मनाइने जनाइएको छ ।

आजको दिनलाई वास्तुशास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्दछन् ।

कमेन्ट गर्नुहोस्
Share: