
पोखरा । कास्कीको पोखरा महानगरपालिकामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित आज भेटिएका छन् ।
पोखरामा बिहीबार दिउँसो एकैपटक ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने आजै बिहान ८ जना थपिएका थिए । यससँगै आज मात्रै पोखरामा ७४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्मको तथ्यांक अनुसार यो अहिलेसम्म कै उच्च संख्या हो ।
बिहीबार स्वास्थ्य निर्देशनालयले जारी गरेको तेस्रो विज्ञप्ति अनुसार कास्कीको पोखरा महानगरपालिमा थप ६६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका वडा नं. १५, ८, १४, १७, १०, २३, ४, १५ ३१, २७, २९ र ३३ संक्रमित थपिएका हुन् ।
संक्रमित हुनेमा पोखरा महानगरपालिका–१५ का ३९ जना पुरुषहरु र १ जना महिला गरी ४० नेपाल प्रहरीमा कार्यरत छन् ।
यसैगरी पोखरा–८ का ३९ वर्षीय, १४ का ३५ वर्षीय, १७ का ३७ वर्षीय र २९ का ४० वर्षीय गरी चारजना भारतबाट आएर क्वारेन्टीनमा बसेका पुरुषहरु रहेका छन् । अन्य ३० जना व्यक्तिहरुलाई कन्ट्याक्ट ट्रेसिङबाट पहिचान गरिएको निर्देशनालयले जनाएको छ ।
यसैगरी लमजुङ बेशीसहरका ५ जना पुरुष र तनहुँ बन्दीपुरका ३ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार २८० पुगेको छ ।
यो पनि पढ्नुहोस्ः
पोखराका ४ जना सहित, गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना पुष्टि
पोखराका थप ४ जनामा कोरोना पुष्टि, तनहुँमा पनि एक संक्रमित थपिए

