बाघको छाला, सालकको खपेटा र आखेटोपहारसहित युवक पक्राउ

Share:

पोखरा । बाघको छाला र सालकको खपेटासहित पोखराको शिसुवाबाट एक युवा पक्राउ परेका छन् ।

मंगलबार साँझ ६:३० बजे धादिङ गल्छी गाउँपालिका– ४ निवासी २८ वर्षीय सन्तोष लामिछानेलाई अबैध बाघको छाला, सालकको खपेटा, हाड,खुट्टा तथा पंजासहित प्रहरीले पक्राउ गरेको हो ।

पोखरा–३१ शिसुवाबाट वनपोखरी तर्फ जाँदै गरेको प्रदेश नं ३ को ३–०२–०११ प. ७८०६ नम्बरको मोटरसाइकलको पछाडी जेब्रा झोलामा छुकाइछिपाई ल्याएको अबैध छालासहित लामिछानेलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

लामिछानेको साथबाट अबैध बाघको छाला–१ थान (लम्बाई ८ फिट, चौडाई ३ फिट), सालकको खपेटा–१ थान (लम्बाई २ फिट ५ ईन्च, चौडाई ११ ईन्च) बन्यजन्तुको जस्तो देखिने ३ केजी ७ सय ५० ग्राम हाड, खुट्टा र पंजा बरामद भएको हमालले जनकारी दिए ।

हमालका अनुसार कास्कीमा अन्य जिल्लाबाट आएर बन्यजन्तुको आखेटोपहारको अबैध ओसारपसार तथा कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सहित मातहतको ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा लामिछानेलाई पक्राउ गरेको हो  ।

लामिछानेलाई थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: