
पोखरा । गण्डकी प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गोरखा र नवपुरका एकएक जना महिलाको मृत्यु पुष्टि भएको हो ।
गोरखा जिल्लाको बारपाक सुलिकोट ६ निबासी ४५ बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । ती महिलाको बयोधा अस्पताल, काठमाडौँमा उपचारको क्रममा मिति असोज १५ गते बिहीबार मृत्यु भएको स्वास्थ्य कार्यालय, गोरखाका प्रमुखले जानकारी दिएका छन् । ती महिलामा किड्नी सम्बन्धी समस्या समेत रहेको जनाईएको छ ।
यस्तै नवलपरासी (ब.सु.पू.) जिल्लाको कावासोती ५ निवासी ७७ बर्षीय कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको छ । उनको मंगलबार (आज) बिहान ०३ः४५ बजे चितवन मेडिकल कलेज, चितवनमा आइसीयुमा उपचारको क्रममा मृत्यु भएको हो ।
पिसाब तथा श्वासप्रश्वास सम्बन्धि उपचारका लागि असोज १६ गते शुक्रबार अस्पताल भर्ना भएकी ती महिलामा १८ गते आइतबार कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
४ संक्रमित थपिए
यसैगरी मंगलबार बिहान गण्डकीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा र बि.पी. कोईराला स्मृती क्यान्सर अस्पताल, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशका तनहुँ र नवलपुर जिल्लाका २,२ जना गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार तनहुँ जिल्लाको व्यास ३ का २३ वर्षीय पुरुष तथा व्यास २ की ७० वर्षीया महिला, नवलपुर जिल्लाको देबचुलीका ७० वर्षीया महिला र कावासोतीका ४८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ४३ (२ जना मृतकको समेत) पुगेको निर्देशनालयले जनाकारी दिएको छ ।
यस्तै प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या ३ हजार ४७ (निको हुने दर ७१.९१५ ) रहेको समेत निर्देशनालयले जनाएको छ ।
