पोखरामा सुकुम्बासी जग्गा दिलाउने प्रलोभनमा पारी ठगी गर्ने ८ जना पक्राउ

Share:

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले झुट्टो व्यहोरा देखाई ठगी गरेको आरोपमा ८ जनाको गिरोहलाई पक्राउ गरेको छ ।

ठगी गर्ने ३ महिला र ५ पुरुषलाई प्रहरीले नगद १ लाख ६१ हजार सहित सोमबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा कास्कीको माछापुछ्रे गाउँपालिका ९ सिदिङ स्थायी घर भइ हाल पोखरा ५ पर्स्याङमा डेरा गरी बस्ने वर्ष ३९ का हिरा बहादुर तामाङ, म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका ४ राफु स्थायी घर भइ हाल पोखरा १४ कुंडहर बस्ने ३० वर्षीय रमेश कुमार परियार, रुपन्देही जिल्लाको सैनामैना बाँसगडी घर भइ हाल पोखरा १४ चाउथे बस्दै आएका ३५ वर्षीय ओम बहादुर सुनार रहेका छन् ।

यस्तै सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका ३ घर भइ हाल पोखरा १३ बस्दै आएकी ३७ वर्षीया रिता विश्वकर्मा, पोखरा महानगरपालिका १७ चोरसाँघु घर भएका २२ वर्षीय सोनु परियार, पोखरा १३ बाँझापाटन घर भएका २७ वर्षीया सिता सुनार, पोखरा १३ मियाँपाटन घर भएका ५० वर्षीय हर्क बहादुर वि.क र पोखरा १३ मियाँपाटन घर भएका २४ वर्षीय मौसम सदाशंकर रहेको प्रहरीले जनाएको छ ।

उक्त गिरोहले आफुहरु गण्डकी प्रदेश कार्य समितिका पदाधिकारीहरु भइ हाल नेपाल सरकार अव्यव्यस्थित सुकुम्वासी समाधान आयोग काठमाडौँबाट आएको भन्दै पोखरा महानगरपालिका वडा नं. १४ भोटेचौतारास्थित करिब ३०० रोपनी जग्गामा घर जग्गा उपलब्ध गराइदिने तथा तत्कालै उक्त जग्गामा अमिन लगेर फिल्डमा नापजाँच गर्ने भन्दै विभिन्न व्यक्तीहरुबाट पैसा समेत असुलेको आरोपमा पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ६१ हजार सहित रजिष्टर एक थान, नगदी रसिद अर्धकट्टी सहितको प्याड एक थान, विभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपी १९ थान, विभिन्न व्यक्तिहरुको पासपोर्ट साइजको फोटोहरु र अव्यव्यस्थित सुकुम्वासी समस्या समाधान आयोग काठमाडौँ लेखिएको गण्डकी प्रदेश कार्यसमिति गठन भएको पत्र १ बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई फौजदारी संहिता २०७४ को दफा ९ को १ बमोजिम मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर अन्तर्गतको दफा २४९ बमोजिम मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया शुरु गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: