गण्डकी प्रदेशमा थप दुई कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ५३ पुग्यो

Share:

पोखरा । गण्डकी प्रदेशमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बाग्लुङ र नवलपुरका १/१ संक्रमितको मृत्यु भएको हो ।

बागलुङको बागलुङ नगरपालिका १३ स्थायी घर भई पर्वतमा बस्दै आएकी ४८ वर्षीया महिलाको आइतबार साँझ ७ बजे कुश्मामा निधन भएको निर्देशनालयले पुष्टि गरेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत महिलामा गत शनिबार कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएकोमा हस्पिटलले होम आइसोलेशनमा बस्न सिफारिस गरेको थियो । पोखराबाट डिस्चार्ज भएपछि आइतबार नै कुश्मा गएकी महिलाको बेलुकी नै निधन भएको हो ।

ति महिला असोज २८ गते स्वास्थ्य समस्या भएपछि पोखरा आएकी थिइन् । कार्तिक १ को रिपोर्टमा कोरोना पोजिटिभ देखिएपछि हस्पिटलले होम आइसोलेसनमा बस्न भन्दै पठाइदिएका थिए । उनलाई परिवारले ट्याक्सी चढाएर लगेका हुन् ।

यसैगरी नवलपरासी (ब.सु.पू.) जिल्लाको गैंडाकोट १२ का ८५ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको निर्देशनालयले पुष्टि गरेको छ ।

ती पुरुषको असोज ३० गते साझँ ५ः०० बजे मृत्यु भएको हो । चितवन मेडिकल कलेज, चितवनको प्रयोगशालाबाट असोज २६ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । ती पुरुषमा कोभिड–१९ को संक्रमण सहित दम, निमोनियाको समस्या समेत रहेको जनाइएको छ ।

यसैगरी निर्देशनालयले (प्रतिवेदन गर्न छुट भएको) असोज ३० गते पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा कोभिड–१९ का कारण मृत्यु भएकी कास्की जिल्ला, पोखरा महानगरपालिका ३ का ५६ बर्षीय महिला सँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: