यमपञ्चकको तेस्रो दिनः आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन

Share:

पोखरा । यमपञ्चकको तेस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ ।

सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

आजै बिहान नदी, तलाउ वा धारामा गई स्नान गरेर सालका पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने गरिन्छ । यसरी नरक बगाएमा नरक जान नपर्ने शास्त्रीय मान्यता छ ।

घरको सुरक्षामा खटिने कुकुरलाई आज पूजा गरेर मिठा खानेकुरा खान दिएमा यमलोकको यात्रा गर्दा बाटोमा अवरोध नहुने धार्मिक विश्वास छ ।

आजै साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।

लक्ष्मी पूजाका लागि घर सफासुग्घर र लिपपोत गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भ¥याङलगायत सरसफाइ गरिन्छ । लिपपोत गरी घर घरमा दीपावली गर्ने चलन छ । आज बेलुका आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म लक्ष्मीको पाइला बनाएर बाटो समेत देखाइन्छ ।

केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलिमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाएर विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिनेछ । कुल परम्परानुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीय रुपमा भने औंसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए ।

आज बेलुका समूह बनाएर घरघरमा भैलो समेत खेलिन्छ । भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइने प्रचलन रहेकोछ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । तर कोरोना सङ्क्रमण जोखिमका कारण यसवर्ष भीडभाड र समूहमा भेला भएर भैलो नखेल्न सरकारले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: