
तनहुँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गृहजिल्ला तनहुँमा पुगेका पौडेललाई व्यास नगरपालिका १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला मोटरेबल पूलको उद्घाटन गर्ने क्रममा तनहुँ प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।
पौडेलले आफूलाई प्रहरीले हिरासतमा लिएको भनी फेसबुकमा लेखेका छन् ।
‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु,’ पौडेलले लेखेका छन्, ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस!’
संघीय सरकारको बजेटमा बनेको उक्त पुल पौडेलले उद्घाटन गरेर जस लिन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता कार्यकर्ताले बिरोध जनाएका थिए ।
व्यास नगरपालिका–१ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा संघबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।
बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको हो।
निषेधाज्ञा लगाइएको समयमा पुल उद्घाटन गर्न भन्दै कांग्रेस कार्यकर्ताको ठूलो समूहसहित नेता पौडेलले निषेधित क्षेत्र तोड्न खोजेपछि नियन्त्रणमा लिइएको तनहुँ प्रहरीले जनाएको छ ।
कांग्रेस कार्यकर्तालाई निषेधित क्षेत्रबाट हटाउन प्रहरीले लाठीचार्ज र दर्जनौ सेल अश्रुग्यासको सेल हानेको थियो ।
नेता पौडेल, प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायतलाई प्रहरीले पक्राउ गरेको छ ।
